२० वर्षपछि पक्राउ परे म्याग्दी आक्रमणको बेला कारागारबाट फरार अभियुक्त 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ८, शुक्रबार १०:२५
२० वर्षपछि पक्राउ परे म्याग्दी आक्रमणको बेला कारागारबाट फरार अभियुक्त 

काठमाडौं । जिल्ला अदालत म्याग्दीबाट कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका एक फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका ४५ वर्षीय गुनबहादुर पुर्जालाई प्रहरीले शुक्रबार राति १२ः३० बजेतिर लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

घटनाको पृष्ठभूमि दुई दशक अगाडिको हो । २०६० चैत्र ७ गते तत्कालीन विद्रोही नेकपा (माओवादी) ले म्याग्दी सदरमुकाम बेनीमा भीषण आक्रमण गरेको थियो । सोही समयमा पुर्जा कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि जिल्ला कारागार म्याग्दीमा थुनामा थिए । सशस्त्र जनयुद्धको अस्तव्यस्तता र आक्रमणको फाइदा उठाउँदै उनी सोही रात कारागारबाट फरार भएका थिए ।

Advertisement

जिल्ला अदालत म्याग्दीले उनलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २० वर्ष कैद सजाय सुनाएको थियो । कारागारबाट फरार भएदेखि नै उनी प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहँदै आएका थिए । उनले अझै १० वर्ष ७ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा खटिएको टोलीले पुर्जालाई पक्राउ गर्न सफल भएको हो । रघुगंगा गाउँपालिका–४ बाट करिब ५ किलोमिटर टाढा दुर्गम लेकमा रहेको गोठमा लुकेर बसिरहेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी बाँकी कैद भुक्तानका लागि कारागार चलान गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×