
एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको ट्यांक जिल्लास्थित सेना र प्रहरीको संयुक्त सुरक्षा चौकीमा भएको चरमपन्थी आक्रमणमा १२ सैनिकसहित १५ जनाको मृत्यु भएको छ । घटनामा दुई प्रहरीले पनि ज्यान गुमाएका छन् ।
पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर)का अनुसार बिहीबार राति ‘माझी खेल’ सुरक्षा चौकीलाई लक्षित गर्दै चरमपन्थी समूहले आक्रमण गरेको हो । सुरुवातमा उनीहरूले चौकीको सुरक्षा घेरा भत्काएर प्रवेश गर्ने प्रयास गरेका थिए । सुरक्षाकर्मीले उक्त प्रयास विफल पारेपछि आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको सवारीसाधन चौकीको पर्खालमा ठोक्काएका थिए ।
शक्तिशाली विस्फोटका कारण सुरक्षा चौकी पूर्ण रूपमा ध्वस्त भएको सेनाले जनाएको छ । विस्फोटपछि भएको क्षतिमा १२ सैनिक, दुई प्रहरी र एक वन अधिकारीको मृत्यु भएको हो । आक्रमणमा घाइते भएका सुरक्षाकर्मीलाई उपचारका लागि नजिकका अस्पतालमा पठाइएको छ ।
सुरक्षाकर्मीले घटनापछि सञ्चालन गरेको जवाफी कारबाहीमा १२ जना चरमपन्थी मारिएको आईएसपीआरले जनाएको छ । भाग्न खोजेका आक्रमणकारीलाई पछ्याउँदै सुरक्षा निकायले कारबाही गरेको सेनाको दाबी छ ।
घटनापछि ट्यांक जिल्लाभर सुरक्षा सतर्कता बढाइएको छ । प्रशासनले दफा १४४ लागू गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ । साथै, आक्रमणमा संलग्न अन्य व्यक्तिको खोजीका लागि सुरक्षा निकायले व्यापक सर्च अपरेसन जारी राखेको छ ।

























