
एजेन्सी । युक्रेनको राजधानी किभ नजिक आयोजित ड्रोन प्रविधि प्रदर्शनीमा रुसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । १०० भन्दा बढी घाइते भएका छन् ।
आक्रमणको समयमा प्रदर्शनीस्थलमा रक्षा क्षेत्रका अधिकारी, सैन्य प्रविधि विज्ञ तथा उद्योगसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको बताइएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुसार रुसले प्रदर्शनीलाई लक्षित गर्दै तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । तीमध्ये एउटा मात्रै युक्रेनी वायु प्रतिरक्षा प्रणालीले रोकेको थियो भने बाँकी दुई क्षेप्यास्त्र प्रदर्शनी क्षेत्रमा खसेका थिए ।
यही क्रममा पूर्वी युक्रेनको स्लोभियान्स्क सहरमा रुसी ग्लाइड बम आक्रमणमा पाँच जनाको मृत्यु भएको छ । उत्तरी सुमी क्षेत्रमा भएको अर्को आक्रमणमा दुई जनाले ज्यान गुमाएको युक्रेनी सैन्य अधिकारीहरूले पुष्टि गरेका छन् ।
राष्ट्रपति जेलेन्स्कीले रुसले आगामी ४८ घण्टाभित्र थप ठूलो क्षेप्यास्त्र आक्रमण गर्न सक्ने गुप्तचर सूचना प्राप्त भएको भन्दै नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् । घटनापछि प्रदर्शनी आयोजना गर्ने निर्णय र सुरक्षाको व्यवस्थापनका बारेमा छानबिन पनि सुरु गरिएको उनले बताएका छन् ।
युक्रेनका महान्यायाधिवक्ताले कार्यक्रम कसको निर्णयमा आयोजना गरिएको थियो । आवश्यक सुरक्षा उपाय अपनाइएका थिए वा थिएनन् भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।
यता युक्रेनले पनि जवाफी कारबाहीस्वरूप रुसी भू–भागभित्र करिब एक हजार किलोमिटर टाढा रहेको किरोभ सहरस्थित सैन्य कारखानामा ड्रोन आक्रमण गरेको जनाएको छ । उक्त कारखानामा रुसी विमान र क्षेप्यास्त्रका लागि आवश्यक पुर्जा उत्पादन हुने बताइएको छ । आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै २६ जना घाइते भएको जनाइएको छ ।
यससँगै युक्रेनले रुसको ठूलो अनलाइन व्यापारिक कम्पनी वाइल्डबेरीजका गोदामहरूलाई पनि निशाना बनाएको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले भने युक्रेनी ड्रोन निर्माण तथा रुसी भूमिमा आक्रमणको योजना बनाउने अधिकारीहरू भेला भएको स्थानमा उच्च र सटीक क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरेको छ ।
यस घटनापछि युद्धको अवस्थामै यति ठूलो सार्वजनिक कार्यक्रम आयोजना गरिएको विषयलाई लिएर युक्रेनभित्रै व्यापक आलोचना सुरु भएको छ । यसैबीच, राष्ट्रपति जेलेन्स्कीले अर्को साता अमेरिका पुगेर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
उता, रोमानियाले आफ्नो वायुसीमा उल्लंघन गरेको रुसी ड्रोनलाई आफ्ना फाइटर जेटमार्फत खसालेको पुष्टि गरेको छ । रोमानियाका राष्ट्रपति निकोसार डानले आफ्नो देशको हवाई सुरक्षा कायम राख्न आवश्यक कदम चालिएको बताएका छन् ।

























