
झापा । झापाको भद्रपुर नगरपालिका–१० चन्द्रगढीस्थित पोख्रेल टोलमा एक युवती आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । नौ महिनाअघि मात्र विवाह बन्धनमा बाँधिएकी रितु ढकालको शंकास्पद मृत्यु भएपछि माइती पक्षले निष्पक्ष छानबिनको माग गर्दै प्रहरीमा दबाब दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ढकाल सोमबार राति करिब ११ः४५ बजे आफ्नै घरभित्र झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । उनको नौ महिनाअघि चन्द्रगढीका प्रसिल कोइरालासँग विवाह भएको थियो।
मृतकका माइती पक्ष र स्थानीयहरूले यो घटनालाई सामान्य आत्महत्या मान्न अस्वीकार गरेका छन् । उनीहरूले घटनाको प्रकृति हेर्दा हत्याको शंका उब्जिएको भन्दै दोषीमाथि कडा कानुनी कारबाही र निष्पक्ष छानबिनको माग गरेका छन् ।
माइती पक्षले स्थानीय प्रादेशिक अस्पताल भद्रपुरमा शव परीक्षण (पोस्टमार्टम) गर्न सहमति नजनाएपछि थप विस्तृत अनुसन्धानका लागि शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । माइत पक्षको आग्रह अनुसार फरेन्सिक रिपोर्टका लागि शव धरान पठाइएको प्रहरीले जनाएको छ ।
झापा प्रहरीका प्रवक्ता डीएसपी रञ्जन अवाले घटनाको बारेमा गम्भीरताका साथ अनुसन्धान भइरहेको जानकारी दिए । उनले घटनाको प्रकृति, मृत्युको कारण र घटना हुनु अघिका गतिविधिबारे सूक्ष्म अनुसन्धान सुरु भइसकेको र शव परीक्षण प्रतिवेदन तथा फरेन्सिक प्रमाणका आधारमा सत्य तथ्य छिट्टै सार्वजनिक गरिने बताए ।
घटना स्थलको मुचुल्का उठाएर अन्य प्राविधिक अनुसन्धानलाई अघि बढाएको प्रहरीले जनाएको छ ।

























