
विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै डीआइजी शेखर खनालले कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उच्च व्यावसायिकता र इमानदारीका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा प्रहरी अधिकृत तथा जवानहरूलाई सम्बोधन गर्दै डीआइजी खनालले व्यक्तिगत स्वार्थभन्दा प्रहरी संगठनको हित र आवश्यकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । ‘आफ्नो पदीय दायित्व निर्वाह गर्दा उच्च व्यावसायिकता, अनुशासन र जिम्मेवारी बोध हुनुपर्छ,’ उनले भने ।
डीआइजी खनालले नेपाल प्रहरीले जस्तोसुकै कठिन परिस्थितिमा पनि प्रभावकारी सेवा प्रवाह गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा आइपर्ने चुनौतीहरूलाई संयमता र धैर्यताका साथ सामना गर्न निर्देशन दिए । उनले कार्यसम्पादनका क्रममा ‘न्यूनतम क्षतिको सिद्धान्त’ लाई आत्मसात् गर्दै व्यावसायिक दक्षता प्रदर्शन गर्नुपर्ने बताए ।
‘संगठनको लक्ष्य हासिल गर्न सबै कर्मचारीबीच आपसी सहयोग, समन्वय र प्रतिबद्धता आवश्यक छ,’ उनले भने, ‘कार्यसम्पादन सम्झौताअनुसारका लक्ष्यहरू समयमै, पारदर्शी र गुणस्तरीय ढंगबाट पूरा गरी नागरिकको विश्वास आर्जन गर्नतर्फ सबै लाग्नुपर्छ ।’
प्रहरी प्रमुख खनालले संगठनको हितका लागि आफू जस्तोसुकै तहका कर्मचारीबाट पनि राय, सल्लाह र सुझाव ग्रहण गर्न तयार रहेको बताए । निर्देशनअघि उनले प्रदेश प्रहरी कार्यालयका विभिन्न शाखाहरूको निरीक्षण तथा अनुगमन समेत गरेका थिए ।
सोही अवसरमा कोशी प्रदेश प्रहरी कार्यालयका डीएसपी रामप्रसाद तिमल्सिनाले प्रदेशको समग्र शान्ति सुरक्षा, अपराध नियन्त्रण, अनुसन्धान र सेवा प्रवाहको अवस्थाबारे प्रस्तुतिमार्फत जानकारी गराए ।

























