डर, शोक र प्रतीक्षामा बाँचेको कप्तानगन्ज : ‘बदला होइन, न्याय चाहियो’

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार २०:४६

विराटनगर । गोलीकाण्ड मच्चिएको चार दिन बितिसक्दा पनि सुनसरी देवानगन्जस्थित कप्तानगन्जको वातावरण सामान्य हुन सकेको छैन । बजार सुनसान छ, पसलहरू बन्द छन्, किसान खेतबारीमा जान सकेका छैनन् । सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । गाउँका बासिन्दा अझै त्रासमै दिनरात बिताइरहेका छन् । अर्थात्, कप्तानगन्ज डर, शोक र प्रतीक्षामा बाँचेको छ ।

स्थानीय युवाले मृतकलाई सहिद घोषणा गर्न, परिवारलाई राहत उपलब्ध गराउन र दोषीमाथि कारबाही गर्न माग गर्दै बिहीबार दिउँसो श्रीराम चोकमा प्रदर्शन गरे । चोकको एकातर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षा घेरा थियो भने अर्कोतर्फ टेन्टमा बसेका स्थानीय अगुवाहरू गाउँमा बिग्रिएको सामाजिक सम्बन्ध कसरी पुनः स्थापित गर्ने भन्ने विषयमा छलफल गरिरहेका थिए ।

प्रदर्शनकै क्रममा उपचाररत २२ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको खबर गाउँमा पुग्यो । त्यससँगै मृत्यु हुनेको संख्या दुई पुगेपछि स्थानीयको आक्रोश थप चर्कियो । प्रदर्शनकारीहरू प्रहरीको घेरा पार गर्दै नजिकैको शिव मन्दिर पुगे र त्यहाँबाट फेरि नाराबाजीसहित बजारतर्फ फर्किए । प्रदर्शनमा महिला र बालबालिकाको समेत सहभागिता थियो ।

आइतबार रातिको घटनाको असर अझै गाउँभरि देखिन्छ । जलेका मोटरसाइकलका अवशेष सडक किनारमै छन् । बन्द बजार र सुनसान चोकले गाउँको असहज अवस्था झल्काइरहेको छ । दिन कसैगरी बिते पनि रात कसरी बित्ने भन्ने चिन्ता दुवै समुदायका नागरिकमा छ । सम्भावित अप्रिय घटनाको डरले धेरैले आफ्ना साना बालबालिकालाई आफन्तकहाँ पठाएका छन् ।

स्थानीय रामचन्द्र मेहताले पनि आफ्ना सन्तानलाई सुरक्षित स्थानमा पठाएको बताए । उनका अनुसार गाउँमा देखिएको समस्या समाधानका लागि राज्यले तत्काल सक्रिय भूमिका खेल्नुपर्छ । ‘हामीलाई झन् द्वन्द्व होइन, समाधान चाहिएको हो,’ उनी भन्छन्, ‘बदला होइन, न्याय चाहियो ।’ उनी गाउँको पीडा काठमाडौंसम्म पुग्न नसकेको गुनासो गर्छन् ।

स्थानीय अगुवाहरूका अनुसार सदियौँदेखि मिलेर बसेका हिन्दु र मुस्लिम समुदायबीचको विश्वास पुनःस्थापित गर्नु अहिले सबैभन्दा ठूलो चुनौती बनेको छ । उनीहरू मृतकका परिवारलाई राहत, घाइतेलाई क्षतिपूर्ति र घटनाका दोषीलाई कानुनी कारबाही गर्न राज्यले ढिलाइ गरेको बताउँछन् ।

स्थानीय सूर्यनारायण यादवले बाहिरी तत्वको प्रभावले गाउँको सद्भाव खल्बलिएको दाबी गरे । उनका अनुसार गाउँमा पहिलेदेखि दुवै समुदायबीच घनिष्ठ सम्बन्ध थियो । खेतीपाती, मेलापात, व्यापार र दैनिक जीवनका हरेक गतिविधिमा उनीहरू सँगै थिए । त्यस सम्बन्ध बिगार्ने जोसुकै भए पनि उनीहरूमाथि कानुनी कारबाही हुनुपर्ने उनको माग छ ।

सामाजिक अगुवा अरुण मेहताले विवादको केन्द्रमा रहेको दर्ताविहीन मदरसाको विषय राज्यले स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने धारणा राखे । त्यसपछि मात्रै गाउँमा विश्वासको वातावरण पुनःनिर्माण गर्न सहज हुने उनको भनाइ छ । उनी पीडितले न्याय पाउने र गाउँको अवस्था सामान्य हुने प्रतीक्षामा छन् ।

रामनारायण मेहताको भनाइ पनि उस्तै छ । उनी दुवै समुदाय यही गाउँमा सँगै बस्ने भएकाले दोषीलाई कानुनको दायरामा ल्याएर न्याय दिलाउनुपर्ने बताउँछन् । स्थानीय शिक्षक सञ्जय मेहताले पनि घटनाका जिम्मेवार व्यक्तिमाथि निष्पक्ष कारबाही भए गाउँको तनाव विस्तारै कम हुने विश्वास व्यक्त गरे । गाउँमा डर र शोकको वातावरण रहेको उनले बताए ।

मुस्लिम समुदायका वृद्ध ताहिर मियाँ अहिलेको अवस्थाले निकै दुःखी छन् । करिब पाँच दशकदेखि हिन्दु र मुस्लिम समुदायबीच राम्रो सम्बन्ध रहेको स्मरण गर्दै उनले अहिलेको अवस्था कल्पनाबाहिरको भएको बताए । उनका अनुसार विवाद सुरु हुनुअघि पनि उनले युवालाई संयम अपनाउन आग्रह गरेका थिए । उनी फेरि पहिलेकै जस्तो सद्भावपूर्ण वातावरण फर्किएको हेर्न चाहन्छन् ।

स्थानीय युवा जाबिर मियाँ पनि गाउँमा फेरि आपसी विश्वास र भाइचाराको सम्बन्ध स्थापित होस् भन्ने चाहना राख्छन् । स्थानीयका अनुसार अहिले कप्तानगन्जका दुवै समुदाय असुरक्षित महसुस गरिरहेका छन् । एक पक्ष सडकमा उत्रिँदा पनि डरमा छ भने अर्को पक्ष आफ्नै घरभित्र बस्दा समेत सुरक्षित अनुभूति गर्न सकेको छैन ।

आइतबार रातिबाट सुरु भएको तनाव अन्त्य गरी गाउँलाई पुनः सामान्य अवस्थामा फर्काउनुपर्ने सबैको एउटै माग छ । त्यसका लागि उनीहरू राज्यको सक्रिय पहल, निष्पक्ष न्याय र सामाजिक सद्भाव पुनःस्थापनाको प्रतीक्षामा छन् ।

देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समुदायबीचको विवादले हिंसात्मक झडपको रुप लिएपछि नियन्त्रणमा लिन सशस्त्र प्रहरीले आइतबार राति गोली चलाएको थियो । गोली लागेर घाइते भएका देवानगन्ज–४ का ओमप्रकाश मेहताको केहीबेरमा मृत्यु भयो ।

देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको पनि उपचारका क्रममा बिहीबार दिउँसो विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको छ । योसँगै कप्तानगन्ज गोलीकाण्डमा मृत्यु हुनेको संख्या दुई पुगेको छ । घटनामा गोली लागेर घाइते भएकामध्ये आठ जना उपचाररत छन् ।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार गराइरहेका देवानगन्ज–३ का १८ वर्षीय अमित यादवलाई बिहीबार साँझ थप उपचारका लागि सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको छ । उनको अवस्था गम्भीर बनेपछि विराटनगरमा उपचार सम्भव नभएको चिकित्सकले बताएका छन् ।

अन्य सात जना घाइतेमध्ये तीन जनाको न्युरो अस्पताल र चार जनाको विराट नर्सिङ होममा उपचार भइरहेको छ । गोलीकाण्डका बेला सुरक्षाकर्मी र स्थानीय युवासहित २२ जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×