
एजेन्सी । युगान्डामा यात्रु बोकेको ट्याक्सी भ्यान र बालुवा बोकेको ट्रक एकापसमा ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार दुर्घटना सोमबार राति कालुङ्गु जिल्लाको कामुङ्गा ट्रेडिङ सेन्टरस्थित राजमार्गमा भएको हो। मृत्यु हुने सबै ट्याक्सीका यात्रु रहेका छन्। घाइते चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनालगत्तै ट्रक चालक फरार भएकाले प्रहरीले उनको खोजी तीव्र पारेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
युगान्डासहित अफ्रिकाका धेरै मुलुकमा जीर्ण सवारीसाधन, तीव्र गति र सडकको कमजोर अवस्थाका कारण सडक दुर्घटना गम्भीर समस्याका रूपमा रहँदै आएको छ। गत जुलाईमा पनि पूर्वी युगान्डामा शैक्षिक भ्रमणबाट फर्किरहेको प्राथमिक विद्यालयको बस सडकबाट खस्दा २० बालबालिकासहित २१ जनाको मृत्यु भएको थियो।

























