प्रहरी प्रमुख-जेनजी अन्तरक्रिया : निष्पक्ष सेवामा जोड

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ साउन २०, बुधबार ०८:१९
कोशी प्रदेश प्रहरी प्रमुख र ‘द काउन्सिल अफ जेएनजे’ बीच सुरक्षा र सुशासनबारे छलफल

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) शेखर खनालसँग ‘द काउन्सिल अफ जेनजी’ मोरङका प्रतिनिधिले अन्तरक्रिया गरेका छन् । प्रदेश प्रहरी कार्यालयमा भएको भेटमा प्रदेशको शान्ति सुरक्षा, प्रहरी र जनसमुदायबिचको सम्बन्ध तथा समसामयिक विषयमा छलफल गरिएको थियो ।

भेटका क्रममा प्रतिनिधिहरूले पछिल्लो समय व्यावसायिक घरानामा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालको नेतृत्वमा भएको छापा तथा कारबाहीको विषयमा ध्यानाकर्षण गराएका थिए । केही सञ्चारमाध्यमले प्रहरीको भूमिकालाई नकारात्मक र अतिरञ्जित ढंगले प्रस्तुत गरेको भन्दै काउन्सिलले चिन्ता व्यक्त गरेको थि ।

‘द काउन्सिल अफ जेनजी’ मोरङका संयोजक राम खत्रीले तथ्य, प्रमाण र आधिकारिक जानकारीका आधारमा मात्र समाचार सम्प्रेषण हुनुपर्नेमा जोड दिए । भ्रामक र अतिरञ्जित प्रस्तुतिले प्रहरी संगठनको मनोबलमा नकारात्मक असर पुग्ने भएकाले सबै सचेत रहन आवश्यक रहेको उनले बताए ।

प्रतिनिधिहरूले कानुन कार्यान्वयन र न्याय सम्पादनका क्रममा प्रहरीले व्यापारी, विशिष्ट व्यक्ति वा राजनीतिक पहुँचका आधारमा भेदभाव नगरी सबै नागरिकप्रति समान व्यवहार गर्नुपर्ने सुझाव दिए । साथै, मातहतका प्रहरी कर्मचारीहरूलाई कुनै पनि प्रकारको राजनीतिक वा बाह्य दबाबमा नपरी निष्पक्ष, पारदर्शी र कानुनसम्मत ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।

भेटमा काउन्सिलका प्रतिनिधिहरूले डीआइजी खनाललाई सफल कार्यकालको शुभकामना दिँदै शान्ति सुरक्षा कायम गर्न नागरिक समाजको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.