
काठमाडौं । बाँकेको नेपालगन्जको एक इँटा भट्टाको पर्खाल भत्कँदा दुई जना मजदुरको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ । साउन १८ गते बिहान ११ः२० बजेतिर इट्टा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोध र ४५ वर्षीय राम फेरन कोरीको मृत्यु भएको हो ।
पर्खालले थिचिएका लोधको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका कोरीको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते कोरीलाई तत्काल उद्धार गरी अस्पताल भर्ना गरिएकोमा साउन २० गते बिहान ३ः३० बजेतिर उपचारकै क्रममा उनको मृत्यु भयो ।
प्रहरीका अनुसार मृतक वर्षादी लोधको शव परीक्षण (पोस्टमार्टम) पछि आफन्तको जिम्मा लगाइसकिएको छ । अर्का मृतक राम फेरन कोरीको शव पोस्टमार्टमका लागि अहिले अस्पतालमा राखिएको छ । घटना कसरी भयो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



















