
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर भएका वर्षा मापन केन्द्रहरूमध्ये मोरङको विराटनगर विमानस्थल केन्द्रमा सबैभन्दा बढी वर्षा रेकर्ड गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरण अनुसार, साउन १८ गते बिहान ८ः४५ देखि साउन १९ गते बिहान ८ः४५ बजेसम्म विराटनगर विमानस्थल केन्द्रमा १५१.६ मिलिमिटर वर्षा मापन गरिएको हो ।
प्राधिकरणका अनुसार यस अवधिमा देशभरका कूल ४३७ वर्षा मापन केन्द्रमध्ये ३६५ वटा केन्द्रमा वर्षा भएको अभिलेखीकरण भएको छ । मनसुन सक्रिय रहेकाले देशका अधिकांश भागमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको तथ्यांकले देखाउँछ ।
यसैगरी, सोही अवधिमा देशभरका ८७ वटा केन्द्रबाट संकलन गरिएको तापक्रमको विवरण अनुसार सिरहाको लहान सबैभन्दा तातो स्थान बनेको छ । लहानमा अधिकतम तापक्रम ३७.२ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै, रुपन्देहीको तौलिहवामा सबैभन्दा उच्च न्यूनतम तापक्रम २९.१ डिग्री सेल्सियस रेकर्ड भएको छ ।
तुलनात्मक रूपमा हिमाली क्षेत्रमा तापक्रम निकै न्यून देखिएको छ । मुस्ताङको थाकमार्फामा देशकै सबैभन्दा कम न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस मापन गरिएको छ भने सोलुखुम्बुको लुक्लामा सबैभन्दा कम अधिकतम तापक्रम १६.१ डिग्री सेल्सियस रेकर्ड भएको प्राधिकरणले जनाएको छ।



















