
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभावका कारण मौसममा उल्लेख्य बदलाव आएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेर नेपालको तराई भूभाग नजिक रहेकाले वर्षाको गतिविधि बढेको हो ।
अहिले देशभर साधरणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै कोशी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।
आज दिउँसो देशभर साधरणतया बादल लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना छ । यस्तै, मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने देखिन्छ । विशेष गरी बागमती, गण्डकी, कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम विभागले चेतावनी दिएको छ ।
आज राति पनि देशभर मौसम बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने विभागको विज्ञप्तिमा उल्लेख छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा बाढी, पहिरो र डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।

























