ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २१, बिहीबार १९:४४

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई २१ दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ।

सरकारले राजपत्रमा प्रकाशित गरेको नयाँ व्यवस्थाअनुसार महानगर र उपमहानगर क्षेत्रमा एक पटकमा तीन करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्नेछ। इच्छुक संस्थाहरूले विभागको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

Advertisement

इजाजतपत्रका लागि कारोबारको प्रकृतिअनुसार दस्तुरसमेत तोकिएको छ। एक पटकमा पाँच करोड रुपैयाँसम्मको कारोबार गर्ने कम्पनीले पाँच लाख रुपैयाँ र पाँच करोड रुपैयाँभन्दा बढीको कारोबार गर्नेले १० लाख रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ। यसअघि अनलाइन आवेदन दिएर पनि २०८३ असार मसान्तसम्म इजाजतपत्र नलिएका फर्म तथा संस्थाहरूले पनि नयाँ सूचनाअनुसार पुनः अनलाइन आवेदन दिनुपर्ने विभागले स्पष्ट पारेको छ।

आवेदन दिँदा अनलाइन प्रणालीमा पेश गरिएका कागजातको एक-एक प्रति प्रिन्ट गरी विभागमा बुझाउनुपर्नेछ। साथै, आवेदन दर्तापछि सम्बन्धित संस्थाका सञ्चालकहरूले नेपाल प्रहरीको केन्द्रीय अपराध सूचना अभिलेखालयका आधारमा कुनै आपराधिक क्रियाकलापमा संलग्न नरहेको पत्र अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। थप जानकारीका लागि विभागमा सम्पर्क गर्न सकिनेछ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.