
विराटनगर । विराटनगरमा डिजिटल सुरक्षा, साइबर सुरक्षा तथा सूचना अखण्डता सम्बन्धी दुई दिने पत्रकारिता तालिम सुरु भएको छ । डिजिटल राइट्स नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ मोरङको समन्वयमा शुक्रबारसम्म सञ्चालन हुने तालिममा मोरङका ३० जना पत्रकारहरूको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन गर्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले पत्रकारिता क्षेत्रलाई प्रविधिमैत्री बनाउन प्रदेश सरकारले सञ्चारमैत्री कानुन ल्याउन लागेको जानकारी दिए । कोशी प्रदेशको पत्रकारिताको क्षेत्रको विकासका लागि प्रदेश आमसञ्चार प्रतिष्ठान गठन गरिएको उनले बताए । मुलुकको विकासका लागि पत्रकारिता क्षेत्रको विकास आवश्यक रहेकाले कोशी प्रदेशका पत्रकारहरूको समन्वय र सहकार्यमा प्रदेशमा सञ्चारमैत्री कानुन ल्याउने उनले प्रस्ट पारे ।
नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष नितु पण्डितले सामाजिक सञ्जालमा हुने प्रविधिको गलत प्रयोगका कारण भ्रामक र तथ्यहीन समाचारले पत्रकारिता पेसामा चुनौती थपिएकाले प्रविधिको सही प्रयोग गर्न आग्रह गरिन् । अहिलेको अवस्थामा पत्रकारिता क्षेत्रले निकै समस्या भोग्नु परिरहेको चर्चा गर्दै पत्रकारहरूको व्यावसायिक हित र विकासका लागि प्रदेश सरकारले ध्यान दिनुपर्नेमा उनले बताइन् ।
डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देलले डिजिटल मिडियालाई व्यवस्थित एवं प्रभावकारी बनाउन तालिम आयोजना गरिएको प्रस्ट पारे । नेपाल पत्रकार महासंघ मोरङ शाखाकी अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका संस्थापक अध्यक्ष विक्रम लुइँटेल, प्रदेश उपाध्यक्ष कुमोद अधिकारी, नेपाल पत्रकार महासंघ मोरङ उपाध्यक्ष सन्तोष सिग्देल, सचिव नेत्रपी अधिकारीले तालिमको महत्वमाथि प्रकाश पारेका थिए ।
तालिमको सहजीकरण पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष नितु पण्डित, डिजिटल राइट्सका कार्यकारी निर्देशक सन्तोष सिग्देल, अधिवक्ता सदीक्षा सिलवाल र संजीना क्षेत्रीले गरेका छन् ।



















