
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको एक खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ ।
कानेपोखरी गाउँपालिका–४ स्थित भलुवा खोलामा डुबेर स्थानीय विमल दनुवारका ८ वर्षीय छोरा जीव दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार दिउँसो ४ बजेतिर जीव आफ्ना तीन जना साथीहरूसँग भलुवा खोलामा पौडी खेल्न गएका थिए ।
साँझ ८ बजेसम्म पनि उनी घर नफर्किएपछि आफन्त र परिवारका सदस्यहरूले खोजी सुरु गरेका थिए । खोजी गर्ने क्रममा सँगै गएका साथीहरूले उनी खोलाको दहमा डुबेको जानकारी दिए । लगत्तै बालकका हजुरबुवा शुक्रबहादुर दनुवारले खोलाको दहमा खोजी गर्दा उनलाई मृत अवस्थामा बाहिर निकालेका थिए ।
घटनाको जानकारी पाउनासाथ प्रहरीको टोली घटनास्थल पुगेर प्रारम्भिक मुचुल्का तयार गरी राति साढे ९ बजे मृतक बालकको शव पोस्टमार्टमका लागि मंगलबारेस्थित ट्रमा सेन्टर पठाएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।



















