
विराटनगर । जिल्ला अदालत मोरङले विवादास्पद छविका अभिषेक गिरीलाई ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा अनुसन्धानका लागि ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौंबाट पक्राउ गरी बिहीबार विराटनगर ल्याइएका गिरीलाई अदालतले म्याद थप गरेको हो ।
मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार गिरीलाई पक्राउ परेको मितिदेखि लागू हुने गरी चार दिनको म्याद दिइएको छ। उनी गत असार १३ गतेदेखि नै प्रहरी नियन्त्रणमा रहँदै आएका छन्।
गिरी सुरुमा मोरङ कारागारका कैदीबन्दीका लागि छुट्ट्याइएको ‘गर्मी भत्ता’ बापतको रकम हिनामिना गरेको आरोपमा असार १३ गते पक्राउ परेका थिए । सोही मुद्दामा गत असार २३ गते जिल्ला अदालत मोरङले उनलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो ।
तर, अदालतबाट छुट्ने बित्तिकै उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठगी तथा आपराधिक विश्वासघातको अर्को कसुरमा पुनः पक्राउ गरेको थियो ।
उनीविरुद्ध दिलीपकुमार चौधरीले पेट्रोल पम्प खरिदका क्रममा ठगी गरेको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा अहिले उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

























