अभिषेक गिरीले यसरी हडपे पेट्रोल पम्प : कारागारबाटै दबाब, ४ करोडको सम्पत्ति पास

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २२, शुक्रबार १५:४३

विराटनगर । आपराधिक पृष्ठभूमिका अभिषेक गिरीले मोरङका व्यवसायीलाई विश्वासमा पारेर चार करोड मूल्यको पेट्रोल पम्प र जग्गा तथा उक्त जग्गामा बनेको संरचना कब्जा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मोरङको साविक बबियाबिर्ता गाविस–७ हाल रंगेली नगरपालिका–१ का ४७ वर्षीय दिलिपकुमार चौधरीले जिल्ला प्रहरी कार्यालय मोरङमा दिएको किटानी जाहेरीका आधारमा अभिषेक र उनकी दिदी अर्पणा तुलाधर गिरीविरुद्ध आपराधिक विश्वासघात तथा ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको हो । अनेक जालझेल गरी पेट्रोल पम्प हडपेर आफ्नी दिदीको नाममा राख्न सफल भएको आरोप लागेका अभिषेक पक्राउ परिसकेका छन् । अर्पणा भने पक्राउ परेकी छैनन् ।

Advertisement

दिलिपकुमार चौधरी र उनका साझेदार दिनेश ठाकुरको संयुक्त स्वामित्वमा मोरङको कटहरी गाउँपालिका–४ मा पेट्रोल पम्प सञ्चालनमा थियो । व्यवसायमा आर्थिक समस्या आएपछि उनीहरू पेट्रोल पम्प, जग्गा तथा अन्य संरचनासहित सम्पूर्ण सम्पत्ति बिक्री गर्ने निर्णयमा पुगेका थिए ।

२०७९ सालमा उक्त सम्पत्तिको मूल्य चार करोड रुपैयाँ तोकिएको थियो । पेट्रोल पम्प बिक्री गर्न लागेको जानकारी त्यतिबेला मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका अभिषेकसम्म पुगेपछि उनले चौधरीलाई कारागारमै बोलाएर भेट गरेका थिए ।

भेटका क्रममा अभिषेकले सम्पूर्ण सम्पत्ति आफूले नै खरिद गर्ने र केही दिनमै जेलबाट छुट्ने बताउँदै सम्पत्ति आफ्नी दिदी अर्पणा तुलाधर गिरी सञ्चालक रहेको अन्नपूर्ण आयल सप्लायर्स प्रालिको नाममा पास गरिदिन आग्रह गरेको जाहेरीमा उल्लेख छ । पीडितका अनुसार त्यसपछि अभिषेकले कारागारभित्रबाटै आफ्ना मानिसहरू पटक–पटक घरमा पठाएर सम्पत्ति छिटो पास गराउन दबाब दिएका थिए ।

रकमको विषयमा कुरा गर्दा अभिषेकले पास हुने दिनमा दिदीले जति पैसा दिन्छिन् त्यति लिनु, बाँकी रकम आफू जेलबाट छुटेपछि दुई–चार दिनमै तिरिदिने भन्दै विश्वास दिलाएका थिए । गिरीको आपराधिक विगत र प्रभावका कारण आफूहरू डर, त्रास एवं दबाबमा परेको पीडितको दाबी छ ।

त्यसपछि २०७९ फागुन २६ गते मोरङ मालपोत कार्यालयमा पेट्रोल पम्पका सञ्चालकहरु र अभिषेककी दिदी अर्पणाबीच चार करोड रुपैयाँ मूल्य उल्लेख गरी कटहरी–४ स्थित १,३८७.५ वर्गमिटर क्षेत्रफलको जग्गा, पेट्रोल पम्प र त्यहाँ रहेका सम्पूर्ण संरचना अन्नपूर्ण आयल सप्लायर्स प्रालिको नाममा रजिस्ट्रेसन पास गरिएको थियो । उक्त दिन अर्पणा ‘गुन्डागर्दी’मा संलग्न चार–पाँच जनासहित मालपोत पुगेको जाहेरीमा उल्लेख छ ।

जाहेरीमा उल्लेख भएअनुसार सम्पत्ति पास भएपछि अर्पणाले विभिन्न चरणमा गरी दुई करोड ५० लाख रुपैयाँ मात्र भुक्तानी गरिन् । त्यसको केही समयपछि जेलमुक्त भएका अभिषेकले अत्यावश्यक काम परेको भन्दै दिइसकेको रकममध्ये ५० लाख रुपैयाँ मागेर लगे । तर, त्यो पनि फिर्ता गरेनन् ।

यसरी चार करोड रुपैयाँको सम्पत्तिबापत दुई करोड रुपैयाँ अझै बाँकी रहेको र पटक–पटक रकम माग्दा पैसा नदिने, उल्टै धम्की दिने तथा ज्यानको त्रास देखाउने काम भएको पीडितको दाबी छ । त्यसपछि आफू ठगीमा परेको थाहा पाएर प्रहरीमा जाहेरी दिएको चौधरीले उल्लेख गरेका छन् ।

यही घटनासहित अन्य उजुरीका आधारमा मोरङ प्रहरीले अभिषेकमाथि अनुसन्धान गरिरहेको छ । काठमाडौंबाट बुद्ध एयरको विमानमार्फत उनलाई बिहीबार साँझ विराटनगर ल्याइएको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार यसअघि नै अदालतबाट लिइएको पक्राउ अनुमतिका आधारमा अभिषेकलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान अघि बढाइएको छ । गिरीमाथि आपराधिक लाभ एवं ठगी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जानकारी कटवालले दिए ।

निर्माण व्यवसायी सुभाष श्रेष्ठलाई सरकारी ठेक्का मिलाइदिने बहानामा ठगी गरेको आरोप लागेपछि यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अभिषेकमाथि अनुसन्धान गरेको थियो । सीआईबीको अनुसन्धानबाट अभिषेकले २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ बराबरको ठगी गरेको निष्कर्ष निकाल्दै सोही रकम बिगो मागदाबी गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो ।

अदालतले उनलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको भए पनि धरौटी नतिरेकाले डिल्लीबजार कारागार चलान गरिएको थियो । पछि जाहेरवाला सुभाष श्रेष्ठसँग १० लाख रूपैयाँमा मिलापत्र गरेपछि अभिषेक छुटेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले बताए । बिहीबार मिलापत्र गरेर छुटेका अभिषेकलाई तत्काल मोरङ प्रहरीले नियन्त्रणमा लिएर अर्को मुद्दामा अनुसन्धान सुरु गरेको हो ।

सीआईबीको अनुसन्धानले अभिषेकले विभिन्न व्यक्तिको सम्पत्ति आफ्नी श्रीमती सोनु आचार्यको नाममा राखेको देखाएको छ । काठमाडौं, मोरङ र धनकुटासहित विभिन्न स्थानमा करोडौँ मूल्यका जग्गा खरिद तथा नामसारी भएको विषयमा पनि प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरीले उनको सम्पत्तिको स्रोत, आर्थिक आधार र खरिद प्रक्रियाका बारेमा समेत छुट्टै अनुसन्धान गरिरहेको सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले बताए ।

४८ वर्षीय अभिषेक यसअघि अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भई नौ वर्ष कैद सजाय भुक्तान गरेर २०७९ चैत ५ गते जेलमुक्त भएका व्यक्ति हुन् । जेलमुक्त भएपछि पनि उनीमाथि कैदीबन्दीको सरकारी भत्ता असुली, श्रमबाट हुने आम्दानी कब्जा, व्यापारीलाई धम्की दिएर रकम असुली, मिटरब्याज तथा सम्पत्ति हडप्ने आरोप लाग्दै आएका छन् ।

कारागारमा चौकीदार हुँदा पनि कैदीबन्दीलाई चरम यातना दिएर असुली गर्ने गरेको र बाहिर मिटरब्याजको धन्दा चलाउने गरेको आरोप लागेको थियो । मोरङ कारागारका कैदीबन्दीले लत्ताकपडाबापत लत्ताकपडाबापत पाएको सरकारी भत्ता हडपेको भन्दै असार १३ गते उनाई विराटनगर महानगरपालिका–८ स्थित घरबाटै प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धान जारी रहेका बेला अदालतको आदेशबाट हाजिरजमानीमा छुटेका उनलाई असार २३ गते सीआईबीले पक्राउ गरेर अनुसन्धानका लागि काठमाडौं पुर्याएको थियो ।

मोरङ प्रहरीले अहिले अभिषेक, उनका परिवार तथा सहयोगीहरूको बैंक खाता, घरजग्गा, उद्योग–व्यवसाय, सवारीसाधन, लगानी तथा अन्य सम्पत्तिको स्रोतसमेत केलाइरहेको छ । अनुसन्धानका क्रममा प्राप्त प्रमाणका आधारमा आपराधिक विश्वासघात, ठगी, आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरसमेत आकर्षित हुन सक्ने प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
मोरङमा लागुऔषधसहित चार जना पक्राउ 
विराटनगरबाट १४ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
कोशीमा नयाँ सरकार र सत्ता साझेदारीका लागि संवाद सुरु
नीतिगत सुधारको माग गर्दै वैदेशिक रोजगार व्यवसायीले रोके श्रमिक पठाउने प्रक्रिया
अभिषेक गिरीले यसरी हडपे पेट्रोल पम्प : कारागारबाटै दबाब, ४ करोडको सम्पत्ति पास
 सम्पत्ति शुद्धीकरण मुद्दामा  ‘चक्रे मिलन’ दम्पतीलाई सर्वोच्चको सफाइ
सम्पत्ति शुद्धीकरण मुद्दामा  ‘चक्रे मिलन’ दम्पतीलाई सर्वोच्चको सफाइ
भदौदेखि शिक्षक महासंघको आन्दोलन
भदौदेखि शिक्षक महासंघको आन्दोलन
देउवाविरुद्ध मुद्दा र पक्राउ पुर्जीबारे रेकर्ड हेर्दै प्रहरी
कर्णाली विकास बैंक घोटाला प्रकरणः तत्कालीन सिइओ शाहसहित ३ जना पक्राउ
कोशी प्रदेशका ५ जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने
कोशी प्रदेशका ५ जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने
बैंकिङ कसुरमा कोशी प्रदेश तेस्रो स्थानमा, १ हजार १५७ मुद्दा दर्ता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.