
विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित सुनसरी आयल्स ट्रेडर्स अगाडिबाट प्रहरीले १४ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
सडकको किनारमा प्र १–०२–०५३ प २६७ नम्बरको स्कुटर रोकेर शंकास्पद अवस्थामा कुराकानी गरिरहेका उनीहरूलाई शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा भारत बिहार राज्य अररिया जिल्ला जोगवनीका २२ वर्षीय साहिल पाण्डे र मोरङको बेलबारी नगरपालिका–११ का ५३ वर्षीय प्रकाश राई रहेका छन्।
प्रहरीले जाँच गर्ने क्रममा साहिल पाण्डेको साथबाट प्लास्टिकबाहेक १४ ग्राम २७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला पारेको बताएको छ। लागुऔषध र प्रयोग गरिएको स्कुटरसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको छ।

























