सांकेतिक तस्बिरसंखुवासभा। संखुवासभाको मकालु गाउँपालिका-५ पाकपोकस्थित सिमली खोलाले बगाएर बेपत्ता भएका इदुवा हाइड्रोपावरका कर्मचारी तीन दिनपछि मृत भेटिएका छन्। इदुवा हाइड्रोपावरका सुपरभाइजर खाँदबारी नगरपालिका-१० का २८ वर्षीय स्वागत निरौलाको शव बगाएको ठाउँभन्दा करिब ८० मिटर तल खोचभित्र फेला परेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीका अनुसार साउन २० गते राति ११ बजे खोला तर्ने क्रममा निरौला बेपत्ता भएका थिए। सहकर्मीहरू दिनेश विश्वकर्मा र राजेन्द्र लिम्बूसँगै खाना खाएर बास बस्ने ठाउँतर्फ जाने क्रममा उनलाई खोलाले बगाएको थियो।
बेपत्ता निरौलाको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा लगातार खटिएका थिए। तीन दिनको निरन्तर खोजीपछि उनको शव भेटिएको प्रहरीले जनाएको छ।



















