कपिलवस्तुका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २४, आइतबार १०:१८
 कपिलवस्तुका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन 

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह शुक्रबारदेखि रहस्यमय ढंगले सम्पर्कविहीन भएका छन् । ६५ वर्षीय सिंह घरबाट निस्किएपछि परिवारको सम्पर्कमा नआएपछि प्रहरी र स्थानीयले उनको व्यापक खोजी गरिरहेका छन् ।

प्रहरीका अनुसार शुक्रबार बिहान सिंह कपिलवस्तु नगरपालिका–३ स्थित आफ्नो घरबाट निर्माणाधीन कृषि फार्ममा जाने भन्दै लु.प्र.०१०१३ प ७९७० नम्बरको मोटरसाइकलमा निस्किएका थिए । दिउँसो सवा ३ बजेतिर उनी रामराज पुलमा देखिएको सीसीटिभी फुटेजमा कैद भएको छ । त्यस लगत्तै उनले आफन्तलाई फोन गरेर ‘मैले जंगलमा बाटो बिर्सिएँ’ भनी जानकारी गराएको पाइएको छ । तर, साँझ ६ बजेपछि मात्र प्रहरीलाई उनी हराएको खबर पुगेको थियो ।

Advertisement

खोजतलासका क्रममा सिंहले प्रयोग गर्ने मोटरसाइकल पूर्व–पश्चिम राजमार्गबाट करिब ८ किलोमिटर भित्र गोरुसिंगे जंगलमा बेवारिसे अवस्थामा फेला परेको छ । मोटरसाइकल भेटिए पनि सिंहको अवस्था भने अझै अज्ञात रहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

सिंहको खोजीका लागि प्रहरीले तालिमप्राप्त कुकुरसहित ८० भन्दा बढी प्रहरी र स्थानीय बासिन्दालाई परिचालन गरेको छ ।

पुर्ख्यौली घर विराटनगर भए पनि लामो समयदेखि कपिलवस्तुमा बस्दै आएका सिंह अघिल्लो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.