महिना दिनदेखि मेची राजमार्ग अवरुद्धः पूर्वी पहाडको जनजीवन कष्टकर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २५, सोमबार ०६:५१
महिना दिनदेखि मेची राजमार्ग अवरुद्धः पूर्वी पहाडको जनजीवन कष्टकर

इलाम । पूर्वी पहाडको मुख्य मेरुदण्ड मानिएको मेची राजमार्ग विगत एक महिनादेखि ठप्प हुँदा जनजीवन अत्यन्तै कष्टकर बनेको छ । राजमार्गको माईखोला–राजदुवाली खण्डमा निरन्तर खसिरहेको पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएपछि इलाम, पाँचथर र ताप्लेजुङको आवागमन विच्छेद भएको हो ।

लगातारको वर्षाले सडक भासिने र पहिरो खस्ने क्रम नरोकिँदा राजमार्ग सञ्चालनमा आउन सकेको छैन । सडक अवरुद्ध भएपछि यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् भने दैनिक उपभोग्य वस्तुको ढुवानी ठप्प भएको छ । सबैभन्दा बढी मारमा बिरामीहरू परेका छन्, एम्बुलेन्स समेत चल्न नसक्दा ज्यान जोखिममा राखेर पहिरो छिचोल्दै यात्रा गर्नुपर्ने बाध्यता छ ।

Advertisement

स्थानीयका अनुसार वैकल्पिक मार्गको अभावमा सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको छ। उनीहरूका अनुसार हिँडेर पहिरो तर्नुको विकल्प छैन, बिरामी र वृद्ध वृद्धाका लागि यो झन् जोखिमपूर्ण छ।

सडक डिभिजन कार्यालय इलामले पहिरो पन्छाउने प्रयास गरिरहेको बताए पनि कमजोर भौगोलिक बनावट र निरन्तरको वर्षाले काममा बाधा पुर्‍याएको छ । राजमार्ग बन्द हुँदा बजारमा सामानको अभाव हुन थालेको र मूल्य वृद्धिले सर्वसाधारणलाई थप मर्का परेको व्यवसायीहरू बताउँछन् ।

हरेक वर्ष वर्षायाममा दोहोरिने यो समस्याको दीर्घकालीन समाधानका लागि सरकारले स्थायी संरचना र भरपर्दो वैकल्पिक मार्ग निर्माण गर्नुपर्ने माग स्थानीयले जोडदार रूपमा उठाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.