
तेह्रथुम । मध्य पहाडी लोकमार्ग अन्तर्गत तेह्रथुमको खोरुङ्गा खोला–यावरा सडक खण्ड निर्माण सुरु भएको ११ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। २०७२ सालमा सम्झौता भई २०७४ मै सकिनुपर्ने यो सडक ७ पटकभन्दा बढी म्याद थपिँदा पनि अझै अलपत्र छ ।
गौरी पार्वती कोशी एन्ड न्यौपाने जेभीले निर्माणको जिम्मा लिएको यो खण्ड अधुरो रहँदा फेदाप गाउँपालिकाका बासिन्दाले ठुलो सास्ती खेप्नुपरेको छ । वर्षायाम सुरु हुनासाथ सडक हिलाम्मे र खाल्डाखुल्डी हुने भएकाले बिरामीलाई अस्पताल लैजान, दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र स्थानीय उत्पादन बजारसम्म पुर्याउन कठिन भएको छ ।
तेह्रथुम जिल्लाभर लोकमार्गको ११९ किलोमिटरमध्ये ९५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । तर, यो मुख्य खण्ड नबन्दा यात्रु र चालक दुवैले जोखिमपूर्ण यात्रा गर्नुपरेको छ । ‘समयमा सडक नबन्दा हामीले अनाहक दुःख पायौँ, अब आश्वासन होइन काम हेर्न चाहन्छौँ, स्थानीयको गुनासो गर्छन् ।
यता, निर्माण कम्पनीका भने यसै आर्थिक वर्षभित्र कालोपत्रे सम्पन्न गर्ने पुनः पुरानै प्रतिबद्धता दोहोर्याएका छन् । राष्ट्रिय गौरवको आयोजनामा देखिएको यस्तो चरम ढिलाइले विकासको प्रभावकारितामाथि नै गम्भीर प्रश्न उठाएको छ ।

























