
भद्रपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) झापाले भद्रपुर नगरपालिका–२ महारानी चोककी इन्द्रमाया खातीका लागि तीन कोठे घर निर्माण गरी हस्तान्तरण गरेको छ ।
जिल्लाका १५ वटै स्थानीय तहमा विपन्न नागरिकका लागि घर निर्माण गर्ने अभियानअन्तर्गत नेकपाले इन्द्रमायाको घर निर्माण गरेको हो । आज आयोजित घर हस्तान्तरण कार्यक्रममा नेकपा संसदीय दल कोशी प्रदेशका नेता इन्द्र आङ्बोले इन्द्रमायालाई घरको चाबी हस्तान्तरण गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आङ्बोले संविधान निर्माणका क्रममा आवासको अधिकारलाई मौलिक हकका रूपमा समावेश गरिएको बताए । झापामा पार्टीले निर्माण गरेको घरले राज्यलाई घचघच्याउँदै विपन्न नागरिकको आवासको अधिकारप्रति ध्यानाकर्षण गराउने काम गरेको उनको भनाइ छ ।
नागरिकका आधारभूत अधिकार तथा आवश्यकतालाई राज्यले सम्बोधन गर्नुपर्नेमा जोडसमेत दिनुभयो । घर निर्माण अभियानले मुलुकलाई समाजवादउन्मुख बनाउन दबाब सिर्जना गर्ने उल्लेख गर्दै आङ्बोले अभियानमा सहभागी सबैलाई धन्यवाद दिए ।
कार्यक्रमका विशेष अतिथि नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख अशेष घिमिरेले घर निर्माण कार्यले सांकेतिक रूपमा भए पनि झापाबाट समाजवादी अभियानलाई थप विस्तार गर्ने काम गरेको बताए ।
कार्यक्रममा घर निर्माणमा सहयोग गर्ने विभिन्न दातालाई सम्मानसमेत गरिएको छ । विभिन्न दाताबाट संकलित ३ लाख ८१ हजार रुपैयाँको लागतमा भान्सासहित तीनकोठे घर निर्माण गरिएको नेकपाका केन्द्रीय सदस्य तथा घर निर्माण संयोजक बासु दुलालले जानकारी दिए । नेकपाले झापाका १५ वटै स्थानीय तहमा विपन्न नागरिकका लागि घर निर्माण गर्ने अभियान अघि बढाएको उहाँले बताउनुभयो । दोस्रो घर निर्माणका लागि लाभग्राहीसमेत छनोट भइसकेको बताए ।
घर निर्माणका लागि बासुदेव दुलाल, तारा दुलाल, ईश्वरी दाहाल, पदम लिम्बू, ओमसाई पाथिभरा हस्पिटलको फार्मेसी, डा. मुरलीप्रसाद साह, श्रीप्रसाद मिश्र, सानुकुमार लामा, चन्द्रा श्रेष्ठ, बीपी भट्टराई, जोया सुब्बा, राम पोखरेल, परशुराम शंकर, कृष्ण कौशल, नाजिर हुसेन लगायतले नगद तथा जिन्सी सहयोग गरेका छन्।



















