
इलाम । वैदेशिक रोजगारीका सिलसिलामा मलेसियाको जोहरबारुमा रहेका इलामका साजन राईको उपचारका क्रममा मृत्यु भएको छ। माइजोगमाई गाउँपालिका–२, जोगमाईका राईको मलेसियास्थित एक अस्पतालमा भर्ना गरिएकामा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
केही समयदेखि बिरामी रहेका राईलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। अस्पतालले उनलाई ८ अगस्टका दिन मृत घोषणा गरेको मलेसियामै रहेका स्थानीय दिवस सोङ्मीले जानकारी दिए। उनी करिब तीन वर्षअघि रोजगारीका लागि मलेसिया पुगेका थिए।
मृतकको शव नेपाल ल्याउनका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइएको छ। वडाको सिफारिस आवश्यक पर्ने भएकाले माइजोगमाई–२ को वडा कार्यालयले कागजात तयार गरी म्यानपावर कम्पनीमार्फत् मलेसियास्थित नेपाली राजदूतावासमा पठाइसकेको वडाध्यक्ष डम्बरबहादुर सुवेदीले बताए।
वडाध्यक्ष सुवेदीका अनुसार कागजी प्रक्रिया पूरा भइसकेकाले मृतक राईको शव आगामी ३ देखि ४ दिनभित्र नेपाल आइपुग्ने अनुमान गरिएको छ।



















