सुनसरी घटना: सरकार र मृतकको परिवारबीच ७ बुँदे सहमति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २६, मंगलबार ०६:४३

काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा गत साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सात बुँदे सहमति भएको छ । गृहमन्त्री सुधन गुरुङ र मृतकका अभिभावकबिना गृह मन्त्रालयमा सो सहमति भएको हो ।

सहमति अनुसार सरकारले मृतक मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने छ । यस्तै, साउन १० गते राति भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुन बमोजिम तत्काल कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता सरकारले जनाएको छ ।

Advertisement

मृतक रवीन्द्रकुमार मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्ने, मृतकको परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन पहल गर्ने, देवानगन्ज–३ स्थित मदरसाको कानुनी हैसियत र सम्बन्धित विषयमा तत्काल छानबिन सुरु गर्ने, छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू कानुन बमोजिम कार्यान्वयन गर्ने, मृतकको शव नेपाली सेनाको हेलिकप्टरमार्फत सुनसरी पुर्‍याएर दाहसंस्कार गर्ने व्यवस्था गर्ने र घटनामा ज्यान गुमाएका तीनै जनाको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा यसै वर्ष बजेट विनियोजन गरी ‘स्मृति पार्क’ निर्माण गर्ने सरकार र पीडित परिवारबीच भएको सहमतिमा उल्लेख गरिएको छ ।

सहमतिसँगै विगत केही दिनदेखि जारी तनाव साम्य हुने र मृतकको अन्त्येष्‍टि गरिने अपेक्षा गरिएको छ । सरकारले घटनाको गम्भीरतालाई ध्यान दिँदै सबै मागहरू पूरा गर्ने प्रतिबद्धता जनाएपछि पीडित पक्ष शव बुझ्न तयार भएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.