तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २६, मंगलबार ०७:०४
तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशका विभिन्न भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा सरदर स्थानभन्दा केही उत्तर (नेपाल नजिक) र पूर्वी भूभागमा सरदर स्थानको आसपास अवस्थित छ ।

यसकै प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ । अहिले लुम्बिनीका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

आज दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भूभागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ । देशको हिमाली भूभागका केही स्थान र कर्णाली तथा सुदूरपश्चिमका पहाडी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।

विशेष गरी कर्णाली प्रदेशको पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

आज राति देशको हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने तराईका भूभागमा आंशिक बदली रहनेछ । हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराईका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने र नदी नालाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले दैनिक जनजीवन, यातायात तथा कृषि क्षेत्रमा पर्न सक्ने असरप्रति सतर्क रहन मौसमविद्हरूले सुझाव दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.