फाल्गुनन्द मार्ग: सडक मर्मतका लागि मालवाहक सवारीमा रोक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २६, मंगलबार ०७:३१
फाल्गुनन्द मार्ग: सडक मर्मतका लागि मालवाहक सवारीमा रोक

झापा । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी जोड्ने ‘फाल्गुनन्द मार्ग’मा मंगलबार (आज) देखि मालवाहक सवारीसाधन सञ्चालनमा अनिश्चितकालका लागि रोक लगाइएको छ । अविरल वर्षाका कारण सडकका विभिन्न खण्ड क्षतिग्रस्त भएपछि माङसेबुङ गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष विनोदकुमार नेम्बाङका अनुसार ट्रक, टिपर र ट्रेलर जस्ता भारी सवारीसाधनलाई अर्को सूचना नभएसम्मका लागि सञ्चालनमा रोक लगाइएको छ । ‘क्षतिग्रस्त सडकको मर्मत र पुनः स्थापनाको काम भइरहेकाले यात्रा सुरक्षित बनाउन र कामलाई छिटो सम्पन्न गर्न मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका हौँ,’ उनले भने ।

Advertisement

सडक मर्मतको समयमा यात्रुवाहक सवारीसाधनको आवतजावतलाई सहज बनाउन र जाम कम गर्न यो कदम चालिएको हो । खाद्यान्न, औषधि जस्ता अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीसाधनलाई भने रोक लगाइएको छैन । वर्षाले हिलाम्मे र जोखिमपूर्ण बनेको सडकमा ठुला सवारी फस्दा घण्टौँसम्म जाम हुने र यात्रुहरूले सास्ती खेप्नुपर्ने अवस्था आएपछि गाउँपालिकाले उपभोक्ता समितिको आग्रहमा यो निर्णय लिएको हो ।

झापा, इलाम र पाँचथरका हजारौँ नागरिकको जीवन रेखा मानिने यो सडक निर्माण सुरु भएको तीन दशक बितिसक्दा पनि पूर्ण हुन सकेको छैन । कालोपत्रे नहुँदा हिउँदमा धुलो र वर्षामा हिलोको समस्या खेप्दै आएका स्थानीयवासी सडक निर्माणमा भएको ढिलाइप्रति रुष्ट छन् ।

विशेष गरी कृषि उपज बजारसम्म पुर्‍याउन प्रयोग गरिने यो मार्ग अवरुद्ध हुँदा स्थानीय किसान र व्यवसायी प्रत्यक्ष मारमा परेका छन् । सडकलाई छिटोभन्दा छिटो मर्मत गरी यातायातलाई पूर्ण रूपमा सुचारु गराउन स्थानीयले माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.