
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय १० वर्षीय मोहम्मद रहमतुल्लाह, १० वर्षीया रौशन खातुन र १० वर्षीया सवनम खातुन रहेका छन् ।
मंगलबार दिउँसो करिब २ बजे नदीमा नुहाउन पसेका बेला उनीहरू डुबेर बेपत्ता भएको स्थानीयले बताए । घटना लगत्तै खबर पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोजी तथा उद्धारमा खटिएको छ ।
उद्धारका लागि सशस्त्र प्रहरी सुरक्षा बेस देवाहीबाट ७ जना र इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट ९ जनाको टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटबाट रबर बोटसहितको टोली समेत खोजीमा खटिएको सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीले जानकारी दिए ।



















