
काठमाडौं। सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिएको आरोपमा इलामको चुलाचुली गाउँपालिकाका इन्जिनियर डिल्लीराज खड्का र लेखा अधिकृत मिलनकुमार भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छैटौँ तहका इन्जिनियर खड्का र आठौँ तहका लेखा अधिकृत भट्टराईविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा दायर गरेको हो ।
पुलको डिजाइन तथा रिडिजाइन स्वीकृत गराउने र ठेक्कासम्बन्धी काम सम्पन्न भएपछि पेस गरिएको बिलको रकम भुक्तानी गराउन सहजीकरण गरिदिने भन्दै उनीहरूले सेवाग्राहीसँग घुस मागेका थिए । सोही सूचनाका आधारमा टंगाल र इटहरीबाट खटिएको अख्तियारको संयुक्त टोलीले इन्जिनियर खड्कालाई ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा खड्कासँगै लेखा अधिकृत भट्टराईको समेत आपसी मिलेमतो र योजना रहेको खुलेको अख्तियारले जनाएको छ । प्राविधिक र आर्थिक भुक्तानीको जिम्मेवारीमा रहेका दुवै जनाले आफ्नो पदको दुरुपयोग गर्दै रकम माग गरेको आयोगको दाबी छ । अख्तियारले दुवै प्रतिवादीविरुद्ध ६ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कैद र बिगोबमोजिम जरिवानाको मागदाबी गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

























