प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन सांसदहरूको माग

Share this
603shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २६, मंगलबार १६:५३

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट हटाउन आग्रह गरेका छन् । मंगलबार बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाएपछि सभामुखले दलीय आधारमा बोल्न समय दिएका थिए ।

प्रतिनिधिसभामा बोल्दै सांसदहरूले गत जेठ १७ गते प्रधानमन्त्रीले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिबारे स्पष्ट जवाफ माग गरे । नेपाली कांग्रेसका सांसद भरतकुमार स्वारले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति सच्याउनुपर्ने भन्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सभामुखको ध्यानाकर्षण गराए ।

Advertisement

नेकपा (एमाले) का सांसद चन्देश्वर मण्डलले सुनसरी र सिरहा घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै सरकारले महँगी, सुकुम्बासी र विद्युत् शुल्कलगायत विषयमा प्रभावकारी काम गर्न नसकेको बताए । यस्तै राप्रपाका सांसद भरत गिरीले लिपुलेक तथा सीमा विवादबारे सरकारको स्पष्ट दृष्टिकोण माग गरे ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले सीमासम्बन्धी अभिव्यक्ति सच्याउन माग गरे भने श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने बताए । सोही क्रममा रास्वपा सांसद इन्दिरा रानामगरले सांसद राईले प्रयोग गरेको ‘कोर्रा’ शब्दप्रति आपत्ति जनाउँदै अभिलेखबाट हटाउन माग गरिन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×