
काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा अग्रज पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले बुधबार साँझ ललितपुरको बागडोलस्थित घरनजिकैबाट श्रेष्ठलाई पक्राउ गरेको पारिवारिक स्रोतले जनाएको छ ।
श्रेष्ठविरुद्ध साइबर अपराधसम्बन्धी जाहेरी परेको प्रहरी स्रोतले जनाएको छ । यद्यपि, उनीमाथि लागेको आरोप र पक्राउको विस्तृत कारण प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन ।
श्रेष्ठ पक्राउ परेपछि पत्रकारिता क्षेत्रमा प्रेस स्वतन्त्रता र पत्रकारमाथि कानुनी कारबाहीको विषयमा बहस सुरु भएको छ । कुनै समाचार वा सामग्री कानुनविपरीत भए त्यसको परीक्षण र कारबाहीका लागि प्रेस काउन्सिलसहित कानुनी संयन्त्र हुँदाहुँदै पत्रकारलाई पक्राउ गर्नुपर्ने अवस्था किन आयो भन्ने प्रश्न उठेको हाे ।
अर्कोतर्फ, पत्रकारिता पनि कानुन र आचारसंहिताभन्दा माथि नरहेकाले आरोपको निष्पक्ष अनुसन्धान हुनुपर्ने सराेकारवाला बताउँछन् । उनीहरुका अनुसार सरकारले श्रेष्ठमाथि लागेको आरोप, जाहेरीको विषय र अनुसन्धानको कानुनी आधार स्पष्ट पार्नुपर्छ । पत्रकार ज्ञानेन्द्र खड्काले श्रेष्ठ पक्राउ प्रकरणलाई प्रेस स्वतन्त्रतामाथि सरकारकाे हस्तक्षेपका रुपमा लिनुपर्ने बताए ।

























