
काठमाडौं । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको विरोधमा नेपाल पत्रकार महासंघले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले यस पक्राउलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै तत्काल पक्राउको कारण स्पष्ट पार्न माग गरेको छ ।
महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा पत्रकार तथा सञ्चारकर्मीहरूले काठमाडौँ प्रहरी परिसर (टेकु) अगाडि धर्ना दिएका छन् । धर्नाका क्रममा अध्यक्ष शर्माले पत्रकारको संवैधानिक र पेसागत स्वतन्त्रतामाथि राज्यले अकुंश लगाउन खोजेको भन्दै आपत्ति जनाइन् ।
‘पत्रकारलाई पक्राउ गर्नुको कारण र कानुनी आधार तत्काल सार्वजनिक गरिनुपर्छ,’ अध्यक्ष शर्माले भनिन्, ‘प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप महासंघलाई स्वीकार्य छैन । यदि तत्काल समस्या समाधान नभए महासंघ देशभर कडा आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य हुनेछ ।’
महासंघले कानुनी प्रक्रिया पारदर्शी बनाउन र पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । पत्रकार श्रेष्ठमाथि लागेको आरोप र पक्राउको आधिकारिक विवरण प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन ।
महासंघले आफ्ना मागहरू सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलन अघि बढाउने जनाएको छ ।

























