
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–४ खैराङमा प्रकृति र इतिहासको अनौठो संगमका रूपमा रहेको ‘फलाम ढुङ्गा’ यतिबेला संरक्षणको पर्खाइमा छ । हेर्दा दुरुस्तै फलाम जस्तो देखिने र खिया समेत लाग्ने यो ढुङ्गा तथा यससँगै रहेको प्राकृतिक पोखरी प्रचारप्रसार र पूर्वाधार अभावका कारण ओझेलमा परेका हुन् ।
स्थानीयका अनुसार यस क्षेत्रमा रहेका ढुङ्गाहरू फलामको रङसँग मिल्दाजुल्दा छन् । ढुङ्गामा फलाममा जस्तै खिया देखिने भएकाले यसलाई ‘फलाम ढुङ्गा’ भनिएको हो । यसको छेवैमा रहेको प्राकृतिक पोखरीले यो ठाउँलाई थप आकर्षक बनाएको छ । तर, पछिल्लो समय उचित व्यवस्थापन नहुँदा पोखरी पुरिँदै जान थालेको छ भने यसको मौलिकता समेत गुम्ने खतरा बढेको छ ।
स्थानीय शिवराज राईका अनुसार यो क्षेत्र आन्तरिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ । ‘यहाँको प्राकृतिक र ऐतिहासिक महत्त्व ठुलो छ, तर पर्यटकका लागि आवश्यक विश्राम स्थल, खानेपानी र शौचालय जस्ता आधारभूत पूर्वाधार नहुँदा सम्भावना खुम्चिएको छ,’ उनले भने ।
यो क्षेत्रको विकासका लागि हतुवागढी गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) त तयार गरेको छ, तर कार्यान्वयनका लागि बजेट अभाव मुख्य बाधक बनेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले डिपिआर तयार भए पनि काम अघि बढाउन ठुलो रकम आवश्यक पर्ने बताए ।
गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले यो क्षेत्रलाई पालिकाको ऐतिहासिक र धार्मिक सम्पदाका रूपमा जोगाउने लक्ष्य रहेको बताए । ‘हामीले प्रदेश योजना आयोगमा बजेटका लागि पहल गरिरहेका छौँ, तर हालसम्म बजेट प्राप्त हुन सकेको छैन,’ अध्यक्ष राईले भने ।
वडाध्यक्ष चन्द्रबहादुर विष्टले पनि बजेटकै कारण योजनाहरू अलपत्र परेको दुखेसो पोखे । स्थानीय सरकारले सीमित स्रोतसाधनका बाबजुद यसलाई प्राथमिकतामा राखे पनि माथिल्लो निकायको सहयोग बिना बृहत्तर विकास सम्भव नदेखिएको उनीहरूको भनाइ छ ।
यदि यो क्षेत्रमा उचित लगानी र प्रचारप्रसार गर्ने हो भने ‘फलाम ढुङ्गा’ हतुवागढीको मात्र नभई सिंगो भोजपुरकै नयाँ पर्यटकीय चिनारी बन्न सक्ने देखिन्छ ।

























