रोल्पामा पहिरोले घर पुरिँदा २ को मृत्यु, १० जना बेपत्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २८, बिहीबार ०८:४४
रोल्पामा पहिरोले घर पुरिँदा २ को मृत्यु, १० जना बेपत्ता

काठमाडौं । रोल्पामा बुधबार साँझ परेको भीषण वर्षापछि आएको पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । पहिरोमा परी अन्य दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा राति करिब ९ बजेतिर घरमाथिबाट पहिरो खसेको र पहिरोले करिब आधा दर्जन घर गोठ पुरेको छ ।

स्थानीय ६० वर्षीय कमलबहादुर पुन मगर र १८ वर्षीया शान्ति पुन मगरको पहिरोले घर पुरिँदा मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगर गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी प्राथमिक उपचारका लागि सुलिचौर पठाइएको छ । उनीहरूको अवस्था चिन्ताजनक रहेको र थप उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भइरहेको छ।

Advertisement

घटनास्थल सदरमुकामबाट करिब २८ कोष टाढा रहेको छ। उद्धारका लागि प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, प्रहरी नायब उपरीक्षक (डिएसपी) पंचकुमार बाखु, नेपाली सेनाका कर्णेल दीपेश खड्का र सशस्त्र प्रहरीका डीएसपी कालिप्रसाद चौधरीसहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।

बेपत्ता भएका १० जनाको खोजी कार्य जारी छ । ठुलो पहिरो आएकाले क्षति धेरै भएको छ । सुरक्षा निकायका थप टोलीहरू पनि घटनास्थल जाँदै गरेको र बेपत्ताहरूको खोजी र उद्धार कार्यलाई तीव्रता भइरहेको प्रहरीले जनाएको छ । वर्षा नरोकिएका कारण उद्धार कार्यमा केही कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.