
सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनाका कारण ठप्प रहेको गाउँपालिका र वडा कार्यालयहरू बिहीबारदेखि पुनः सञ्चालनमा आएका छन् । कार्यालय खुलेको पहिलो दिनमै सेवा लिन आउने सेवाग्राहीको उपस्थिति अत्यधिक रहेको छ ।
गत साउन १० गते ठुलो आवाजमा डिजे बजाएको विषयलाई लिएर दुई युवा समूहबिच भएको विवादले उग्र रूप लिएपछि देवानगन्जमा तनाव उत्पन्न भएको थियो । सोही तनावका कारण गाउँपालिका र यस अन्तर्गतका सात वटै वडा कार्यालयहरू बन्द रहेका थिए ।
बिहीबार कार्यालय खुलेपछि सेवाग्राहीको ठुलो चाप देखिएको गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले बताए । ‘बिहीबार सेवाग्राहीको थामिनसक्नु चाप भयो । भिडका कारण हामीले कार्यालय समयभन्दा ढिलासम्म बसेर काम गर्यौँ,’ अध्यक्ष मेहताले भने, ‘सबै जना निर्धक्कसँग सेवा लिन आएका छन्, अब बिस्तारै समाजमा पनि सहज वातावरण बन्दै जाने विश्वास छ ।’
झडपका क्रममा घाइते भई उपचाररत १९ वर्षीय रवीन्द्र मेहताको साउन १९ गते मृत्यु भएको थियो । उनको शवको बुधबार दिउँसो दाहसंस्कार गरिएसँगै स्थानीय प्रशासन र जनप्रतिनिधिको पहलमा बिहीबारदेखि कार्यालयहरू सञ्चालन गर्ने निर्णय गरिएको हो ।
अध्यक्ष मेहताका अनुसार दुई समुदायबिच उत्पन्न असमझदारीलाई हटाउन र सामाजिक सद्भाव कायम राख्न स्थानीय अगुवाहरूको सहभागितामा छलफल र मेलमिलापका योजनाहरू अघि बढाइँदै छ । कार्यालयहरू नियमित सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले राहत महसुस गरेका छन् ।

























