
विराटनगर । एलपी ग्यासको वितरण व्यवस्थापन र बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि मोरङ जिल्ला प्रशासन कार्यालयले ग्यास उद्योग र पसललाई जरिबाना गराएको छ।
साउन २७ गते वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिको संयुक्त टोलीले अनुगमन गरेको थियो।
सो क्रममा बुढीगङ्गा गाउँपालिका–५ मा रहेको रिजालको भान्सा ग्यास उद्योग प्रा.लि. मा अनुगमन गर्दा ग्यास बुलेटको अभावमा उद्योग सञ्चालनमा नरहेको पाइएको थियो। तर उद्योग परिसरमा रहेका १९ वटा रिफिल गरिएका सिलिन्डरहरू तौल परीक्षण गर्दा एउटा सिलिन्डरमा २४० ग्राम कम तौल भेटिएको थियो।
त्यस्तै सिलिन्डरमै उल्लेखित म्याद गुज्रिसकेका दुई वटा सिलिन्डरमा ग्यास रिफिल गरी सिलसमेत लगाएर बिक्रीका लागि तयारी अवस्थामा राखिएको पाइएको थियो। म्याद गुज्रेका सिलिन्डरमा ग्यास भरेर बेच्न राखेको र तौलमा समेत ठगी गरेको पाइएपछि प्रशासनले रिजालको भान्सा ग्यास उद्योगलाई २ लाख ९५ हजार रुपैयाँ जरिबाना गराएको छ। साथै म्याद गुज्रेका ती दुई सिलिन्डरको सिल तोडी नष्ट गर्न लगाइएको छ।
त्यस्तै सोही दिन गरिएको अनुगमनका क्रममा विराटनगर महानगरपालिका–३ स्थित कन्चनेश्वर ग्यास पसलले अनुगमन टोलीको जाँचबुझ तथा निरीक्षण कार्यमा सहयोग नगरेपछि १५ हजार रुपैयाँ जरिबाना गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।




















