
इलाम। रोङ गाउँपालिकास्थित कोलुबुङमा रहेको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल पाथीभरा मन्दिरमा गएको आर्थिक वर्ष २०८२/०८३ मा १ करोड ३४ लाख २४ हजार ३४७ रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा संरक्षण तथा विकास समितिले गएको आवको हिसाब सार्वजनिक गर्दै भेटीबापत उक्त रकम संकलन भएको जनाएको हो।
दैनिक दान, शिला, दानपेटिका, डिजिटल दान, विवाह, गोप्य दान तथा दाताहरूबाट सो रकम संकलन भएको समितिकी कोषाध्यक्ष कृष्णाकुमारी भुजेलले बताइन्। समितिको तथ्याङ्क अनुसार सबैभन्दा धेरै भेटी गएको वैशाख महिनामा संकलन भएको छ। वैशाखमा मात्रै १६ लाख ३० हजार ३९० रुपैयाँ भेटी संकलन भएको छ। यसबाहेक माघ, फागुन, चैत, असोज, कात्तिक र मंसीर महिनामा अन्य समयको तुलनामा बढी भेटी संकलन भएको पाइएको छ।
प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले रोङ गाउँपालिकामा रहेको पाथीभरा मन्दिरमा नेपालका तराई भूभाग तथा छिमेकी मुलुक भारतको पश्चिम बङ्गालबाट ठूलो संख्यामा भक्तजनहरू आउने गरेका छन्। श्रीअन्तु, कन्याम, पशुपतिनगर हुँदै भारतको दार्जिलिङ घुमेर फर्कने पर्यटकहरू समेत पाथीभरा दर्शनका लागि पुग्ने गर्छन्।



















