महिला बंगुर पालनबाट आत्मनिर्भर बन्दै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३१, आइतबार ०७:३६
 महिला बङ्गुर पालनबाट आत्मनिर्भर बन्दै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिलाहरू व्यावसायिक बंगुर पालनतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले महिलालाई आयआर्जन र उद्यमशीलतासँग जोड्ने उद्देश्यले सञ्चालन गरेको  ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ प्रभावकारी बनेपछि उनीहरू यो व्यवसायमा जुटेका हुन् ।

गाउँपालिकाले बंगुरका पाठा पाठी खरिद तथा खोर निर्माणमा ५० प्रतिशत अनुदान उपलब्ध गराएपछि स्थानीय महिलाहरू उत्साहित भएका छन् । पौवादुङमा गाउँपालिका–४ बास्तिमकी बर्तमाया राईले गाउँपालिकाको सहयोगमा १० वटा उन्नत जातका पाठा पाठीबाट व्यावसायिक बंगुर पालन सुरु गरेकी छिन् । अनुदानले व्यवसायको प्रारम्भिक लगानी जुटाउन सहज भएको महिलाहरूको भनाइ छ । आफ्नै लगानीमा मात्र निर्भर हुनुपर्ने बाध्यता हटेपछि व्यावसायिक पशुपालनतर्फ लाग्न प्रेरणा मिलेको उनीहरूले बताए ।

Advertisement

गाउँपालिकाले गत आर्थिक वर्षमा यस कार्यक्रमका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । किसानको ५० प्रतिशत लागत साझेदारी थप भएपछि कुल ६० लाख रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन भएको छ । यस कार्यक्रममार्फत वडा नं. ४, ५ र ६ का किसानहरू लाभान्वित भएका छन् । गत वर्ष २० वटा बंगुर फार्म र एउटा बाख्रा फार्मलाई अनुदान उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष किरण राईले महिलाहरूलाई आर्थिक रूपमा सक्रिय बनाउन यो कार्यक्रम ल्याइएको बताए । उनले भने, ‘महिलालाई उद्यमशील बनाउँदै आयआर्जनको मुख्य धारमा ल्याउनु नै हाम्रो मुख्य उद्देश्य हो ।’
यसैगरी, गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले स्थानीय आवश्यकता र किसानको मागका आधारमा आगामी दिनमा पनि यस्ता कृषि तथा पशुपालनका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । कृषिमा आधारित आयआर्जनमार्फत महिलाहरूलाई पूर्ण रूपमा आत्मनिर्भर बनाउने लक्ष्य गाउँपालिकाले लिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.