
काठमाडौं । मकवानपुरको भीमफेदीमा मंगलबार (आज) बिहान ७ बजेतिर भएको जिप दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते ६ जनामध्ये गम्भीर रहेकी ४९ वर्षीया लक्ष्मी बडुको काठमाडौंस्थित छाउनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको शव सोही अस्पतालमै राखिएको जनाएको छ।
काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको सरकारी अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो । नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीसहित चार जनालाई वीरेन्द्र सैनिक अस्पताल छाउनी ल्याइएको थियो ।
दुर्घटनामा न्यायाधीश डाँगी, रजिष्टार बैतडी दशरचन्द–७ सुर्कालका ५१ वर्षीय तारादत्त बडु, २५ वर्षीय रितेन्द्र बडु, ३१ वर्षीया रिता बडु र चालक राप्ती–८ का ३२ वर्षीय छुनिलाल चौधरी घाइते र लक्ष्मी बडु गम्भीर भएका थिए।

























