
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि बिदेसिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार साउन महिनामा मात्रै कुल ७० हजार ४ सय ४१ जनाले श्रम स्वीकृति (नयाँ र पुनः श्रम स्वीकृतिसहित) लिएका हुन् ।
श्रम स्वीकृति लिनेहरूमा पुरुषको संख्या उल्लेख्य छ । विभागका अनुसार ६० हजार ४ सय ७२ जना पुरुष र ९ हजार ९ सय ६९ जना महिलाले वैदेशिक रोजगारीका लागि अनुमति लिएका छन् । एक महिनाको अवधिमा ४२ हजार ६ सय ९३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने २७ हजार ७ सय ४८ जनाले पुनः श्रम स्वीकृति (नवीकरण) गराएका छन् ।
वैदेशिक रोजगारीका लागि म्यानपावर कम्पनीमार्फत २९ हजार ४ सय ४७ जना, व्यक्तिगत रूपमा १२ हजार ४ सय ४२ जना र जीटूजी (सरकार–सरकार) मार्फत ७ सय १२ जना रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।
नेपाली कामदारको पहिलो रोजाइमा संयुक्त अरब इमिरेट्स (युएई) देखिएको छ । साउनमा युएईका लागि १८ हजार ७ सय ८४ जनाले श्रम स्वीकृति लिएका छन् । अन्य प्रमुख देशहरू मलेसिया १२ हजार ४ सय ९८ जना, कतार १० हजार ३ सय ६० जना र साउदी अरब ८ हजार ६ सय १३ जना श्रम स्वीकृति लिएका छन् ।
गत असार महिनाको तुलनामा साउनमा विदेश जानेको संख्यामा केही वृद्धि भएको छ । असारमा ६९ हजार ३ सय ६२ जनाले श्रम स्वीकृति लिएका थिए । गत आर्थिक वर्ष २०८२/ ८३ मा कुल ७ लाख ९२ हजार १ सय ८७ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।
स्वदेशमा पर्याप्त रोजगारीको अवसर अभाव हुँदा खाडी मुलुक र मलेसिया जाने नेपालीको लहर साउन महिनामा पनि निरन्तर देखिएको छ ।



















