
धरान । धरानमा ट्राफिक प्रहरीमाथि दुर्व्यवहार तथा कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर घर भई हाल धरान–११ बस्ने ३८ वर्षीय सोमप्रसाद राई रहेका छन् ।
गत साउन ३० गते धरानको माछाभौडीमा नियमित सवारी चेकिङका क्रममा विवाद हुँदा राईले डिउटीमा रहेका ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोप छ । घटनापछि पीडित प्रहरी सहायक हवल्दार सुवास विश्वकर्माले इलाका प्रहरी कार्यालय धरानमा किटानी उजुरी दिएका थिए ।
उक्त उजुरीका आधारमा प्रहरीले राईलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार पक्राउ परेका राईलाई अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यसैबीच, भोजपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ध्रुव राईले सामान्य विवादमा प्रहरीले बल प्रयोग गरी कार्यकर्तालाई घाइते बनाएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन र दोषी प्रहरीमाथि कारबाहीको माग गरेका छन् । प्रहरीले भने दुवै पक्षको दाबी र प्रमाणका आधारमा कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ ।



















