
काठमाडौं । भारतीय अभिनेता गोविन्दा र उनकी श्रीमती सुनिता आहुजाबीचको सम्बन्ध विच्छेदको विवाद तत्कालका लागि टरेको छ । सुनिताले गोविन्दाविरुद्ध दर्ता गराएको सम्बन्ध विच्छेदको मुद्दा फिर्ता लिएकी छिन् ।
बुधबार सुनिता आफ्ना छोरा यशवर्धन आहुजाका साथ मुम्बईको पारिवारिक अदालत पुगेर मुद्दा फिर्ता लिएकी हुन् । उनीहरू अदालतबाट बाहिरिँदै गरेको भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको छ ।
गोविन्दाका प्रबन्धक शशि रञ्जनले भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै सुनिताले सम्बन्ध विच्छेदको निवेदन फिर्ता लिएको पुष्टि गरेका छन् । विगत दुई वर्ष यो दम्पतीका लागि कठिन समय रहेको बताउँदै प्रबन्धक रञ्जनले अब सबै कुरा सामान्य हुने र दुई जनाबीचको सम्बन्धमा सुधार आउने विश्वास व्यक्त गरे ।
अदालतबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेका प्रश्नमा छोरा यशवर्धनले ‘केही भएको छैन’ भन्दै आमालाई गाडीसम्म पुर्याएका थिए । तर सुनिता भने केही आक्रोशित देखिएकी थिइन् । उनले गाडीमा चढ्नुअघि ‘उहाँ आफ्नो जन्मदिन मनाउन जानुभएको थियो’ भन्दै टिप्पणी गरेकी थिइन् ।
सुनिताले डिसेम्बर २०२४ मा बान्द्रा पारिवारिक अदालतमा सम्बन्ध विच्छेदको निवेदन दर्ता गरेकी थिइन् । गोविन्दा र उनको सम्बन्धमा पछिल्लो समय खटपट देखिएको थियो । विशेष गरी गोविन्दा आफ्नो आगामी फिल्म ‘रूपा’ की सह अभिनेत्री कोमल रानी स्वर्णकरसँग सार्वजनिक रूपमा देखिएपछि सुनिता निकै चिढिएकी थिइन् ।
उनले गोविन्दालाई आफ्नै छोरीको उमेरकी केटीसँग हिँडेकोमा लाज लाग्नुपर्ने भन्दै सार्वजनिक आलोचना समेत गरेकी थिइन् । उनले अभिनेत्री कोमलको पहिरन (ड्रेसिङ सेन्स) माथि पनि व्यङ्ग्य गरेकी थिइन् ।
यद्यपि, अहिले सुनिताले कानुनी प्रक्रिया रोक्दै मुद्दा फिर्ता लिएपछि यो बलिउड जोडीको सम्बन्ध पुनः जोडिने संकेत देखिएको छ ।

























