
विराटनगर। विराटनगरबाट प्रहरीले साढे २८ ग्रामभन्दा बढी लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका–१९ स्थित मिलन चोकबाट बिहीबार साँझ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट प्रहरी नायब निरीक्षक प्रकाशचन्द्र अधिकारीको कमान्डमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रदेश १–०२–०५२ प ६४८८ नम्बरको स्कुटरलाई शंका लागेर चेकजाँच गर्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–१ बस्ने ३३ वर्षीय ध्रुवप्रसाद रिजालको साथबाट प्लास्टिकबाहेक २८ ग्राम ६०० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले रिजालसहित स्कुटरमा सवार सुन्दरहरैँचा–९ बस्ने ३१ वर्षीय नरेश भट्टराई र प्रयोग गरिएको स्कुटरलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान अघि बढाइएको छ।



















