मिर्जा फखरुल इस्लाम आलमगीर बंगलादेशको राष्ट्रपतिमा निर्वाचित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ५, शुक्रबार ०७:३४
मिर्जा फखरुल इस्लाम आलमगीर बंगलादेशको राष्ट्रपतिमा निर्वाचित

काठमाडौं । बंगलादेशको २३ औँ राष्ट्रपतिका रूपमा मिर्जा फखरुल इस्लाम आलमगीर निर्वाचित भएका छन् । बंगलादेशको संसद्ले शुक्रबार उनलाई देशको नयाँ राष्ट्रपतिका रूपमा चयन गरेको हो ।

बंगलादेशमा करिब ३५ वर्षपछि प्रत्यक्ष मतदानमार्फत राष्ट्रपतिको निर्वाचन भएको हो । सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का तर्फबाट उम्मेदवार बनेका आलमगीरले २५५ मत प्राप्त गर्दै विजयी हासिल गरे । उनका निकटतम प्रतिद्वन्द्वी अवकाशप्राप्त कर्णेल ओली अहमदले ८८ मत प्राप्त गरे ।

Advertisement

नवनिर्वाचित राष्ट्रपति आलमगीर सत्तारूढ बीएनपीका प्रभावशाली नेता हुन् । उनी पूर्वप्रधानमन्त्री शेख हसिनाका कट्टर विरोधीका रूपमा चिनिन्छन् । सन् २०२४ मा भएको विद्यार्थी आन्दोलन चर्किएपछि शेख हसिना सत्ता छोडेर भाग्न बाध्य भएकी थिइन् । हसिना हाल भारतमा बस्दै आएकी छिन् भने बंगलादेश सरकारले उनलाई प्रत्यर्पण गर्न भारतसँग माग गर्दै आएको छ ।

राजनीतिक रूपमा कठिन समयमा बीएनपीको नेतृत्व सम्हालेका आलमगीरले आफ्नो राजनीतिक यात्रामा पटक–पटक गिरफ्तारी र जेल जीवनसमेत भोगेका छन् ।

बंगलादेशमा राष्ट्रपतिको पद औपचारिक मानिन्छ । तर, हालै प्रस्तावित नयाँ सुधारअनुसार राष्ट्रपतिको अधिकारलाई थप विस्तार गर्ने तयारी भइरहेको छ । यसबाट देशका शीर्ष नेताहरूबीच शक्ति सन्तुलन कायम गर्न थप मद्दत पुग्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×