भोजपुरमा ९६ प्रतिशत धान रोपाइँ सम्पन्न

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ५, शुक्रबार ०९:०२
भोजपुरमा ९६ प्रतिशत धान रोपाइँ सम्पन्न
भोजपुर । भोजपुरमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लामा हालसम्म ९६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको छ ।
केन्द्रका सूचना अधिकारी घनश्याम बरालले दिएको जानकारी अनुसार जिल्लाभर कुल ११ हजार ५६८ दशमलव ७८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । भोजपुरमा धान खेतीका लागि कुल १२ हजार ५० दशमलव ८१ हेक्टर जमिन उपयुक्त मानिन्छ भने जिल्लाको कुल खेतीयोग्य जमिन ६२ हजार २९९ हेक्टर रहेको छ । यस वर्ष मनसुन सुरु भएसँगै पर्याप्त वर्षा भएकाले अधिकांश क्षेत्रमा समयमै रोपाइँ सम्भव भएको केन्द्रले जनाएको छ ।
भोजपुरका नौ वटै स्थानीय तहका तल्लो भेग तथा बेँसीका फाँटहरूमा मुख्य रूपमा धान खेती हुने गरेको छ ।
किसानहरूको प्रमुख खाद्य बालीका रूपमा रहेको धान यस वर्ष समयमै रोपिएकाले उत्पादनमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ । जिल्लाका अधिकांश स्थानमा मङ्सिरे धान उत्पादन हुने गरे पनि केही क्षेत्रमा बर्खे धान र अनुकूल सिँचाइ भएका बेँसीहरूमा वर्षको दुई बालीसम्म धान फलाउने गरिन्छ ।
समयमै रोपाइँ सकिएको र मनसुनको अवस्था पनि राम्रो रहेकाले यस वर्ष धानको उत्पादकत्वमा सकारात्मक प्रभाव पर्ने कृषि ज्ञान केन्द्रको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×