रुसी आक्रमणमा १६ जनाको मृत्यु, ४० घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ५, शुक्रबार १०:१०

एजेन्सी। रुसले युक्रेनको राजधानी कीभसहित आसपासका क्षेत्रमा बिहीबार राति गरेको भीषण क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु भएको छ। आक्रमणमा परि करिब ४० जना घाइते भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।

युक्रेनी वायुसेनाका अनुसार रुसी सेनाले ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोन प्रयोग गरी देशभरका २८ स्थानमा आक्रमण गरेको थियो। आपत्कालीन सेवाका अनुसार राजधानी कीभमा १५ जना र कीभ क्षेत्रका अन्य भागमा थप एक जनाको मृत्यु भएको छ। राष्ट्रपति जेलेन्स्कीले यसलाई नागरिक पूर्वाधारमा अधिकतम क्षति पुर्‍याउने उद्देश्यले लामो समयदेखि तयारी गरेर गरिएको ुविशाल हमलाु भनेका छन्।

Advertisement

यता रुसी रक्षा मन्त्रालयले भने युक्रेनको ुफ्लेमिङ्गोु क्रुज क्षेप्यास्त्रका पार्टपुर्जा उत्पादन गर्ने औद्योगिक क्षेत्र, ड्रोन उत्पादन तथा भण्डारणस्थल र हतियार भण्डारलाई निशाना बनाएको दाबी गरेको छ। युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीका इन्टरसेप्टरको अभाव भइरहेका बेला रुसले ब्यालिस्टिक आक्रमण बढाएको हो।

अर्कोतर्फ रुसले पनि रातभरमा आफ्ना विभिन्न क्षेत्र, क्रिमिया तथा कालो र आजोभ सागरमाथि ७२६ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ। कीभमाथि रुसी आक्रमणलगत्तै युक्रेनसँग सीमा जोडिएका पोल्यान्ड, रोमानिया र मोल्दोभाले आफ्नो हवाई सुरक्षा सतर्क बनाएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×