१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट हटाउने तयारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ५, शुक्रबार १०:२६

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्यम बिग्रिएर वा अन्जानवश चेक बाउन्सका कारण कालोसूचीमा परेका करिब १ लाख ७० हजार ऋणीलाई राहत दिने तयारी भइरहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा नागरिकका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले अर्थतन्त्र सुधार, कर नीति, युवा उद्यमशीलता र क्रिप्टोकरेन्सी लगायतका विषयमा सरकारको स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका हुन् ।

अर्थमन्त्री वाग्लेले बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा परेका नागरिकलाई कानुनको परिधिभित्र रहेर राहत दिने प्रक्रिया अघि बढेको जानकारी दिए । नवनियुक्त डेपुटी गभर्नर दीर्घ रावललाई समेत आफूले यसै विषयमा पहिलो निर्देशन दिएको उनले बताए ।

Advertisement

उनले भने, ‘राष्ट्र बैंकसँग हुने मेरा तमाम छलफलहरुमा अहिले करिब १ लाख ७० हजार जति नेपाली दाजुभाइ दिदीबहिनीहरु उद्यम गर्दागर्दै बिग्रेर वा चेक बाउन्स भएर अप्ठ्यारो परिबन्धमा पर्नुभएको छ । यसलाई फुकाउनतिर हामीले पहल थालेका छौं। मैले नवनियुक्त डेपुटी गभर्नरलाई पनि पहिलो प्राथमिकता नै यो ब्ल्याकलिस्टको दुश्चक्रबाट अन्जानले फसेका नागरिकलाई कसरी राहत दिन सकिन्छ, यसमा द्रुत गतिमा काम गर्न निर्देशन दिएको छु ।’

मन्त्री वाग्लेले बजारमा शिथिलता छाएको र कुल माग (एग्रिगेट डिमान्ड) घटेको अवस्थामा बजारलाई चलायमान बनाउन सरकारले युवा उद्यमीलाई लक्षित गरी कर छुटको दायरा बढाएको बताए । सरकारले यो आर्थिक वर्षको अन्त्यसम्ममा ५ हजार मेगावाट र आगामी ८–९ वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको समेत उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×