होस्टेलमा धारिलो हतियार प्रहारबाट युवकको हत्या, आरोपमा २ जना पक्राउ 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ५, शुक्रबार १८:२६
होस्टेलमा धारिलो हतियार प्रहारबाट युवकको हत्या, संलग्न आरोपमा २ जना पक्राउ 

काठमाडौं । काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित एक होस्टेलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ । ‘भ्याली ब्वाइज होस्टेल’ मा शुक्रबार बिहान भएको कुटपिट तथा धारिलो हतियार प्रहारबाट दाङका एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१७ घर भई उक्त होस्टेलमा बस्दै आएका २२ वर्षीय वसन्त कालाथोकीको हतियार प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार (आज) बिहान १०ः१० बजेतिर सोही होस्टेलमा बस्दै आएका दुई जना युवकले वसन्तलाई कुटपिट गर्नुका साथै धारिलो हतियार प्रहरी आक्रमण गरेको खुलेको छ ।

Advertisement

आक्रमणबाट वसन्तको टाउको र घाँटीमा गम्भीर चोट लागी घाइते भएका उनलाई तत्काल उपचारका लागि मीन भवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो । त्यहीँ उपचारकै क्रममा दिउँसो १२ः१२ बजे चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

बाराको कलैया उपमहानगरपालिका–३ घर भई ‘भ्याली ब्वाइज होस्टेल’ मा बस्दै आएका २१ वर्षीय प्रमित पटेल र १८ वर्षीय शेखर यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ  परेका दुवै जनाले वसन्तलाई कुटपिट गरी धारिलो हतिया प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले तत्कालै शेखर यादवलाई नियन्त्रणमा लिएको थिए भने अर्का आरोपी प्रमित पटेल फरार भएका थिए । पटेल बल्खु हुँदै हेटौँडातर्फ भागेको भन्ने सूचना पाएपछि खोजीका लागि काठमाडौं प्रहरीले मकवानपुर प्रहरी र इलाका प्रहरी कार्यालय भीम फेदीसँग पक्राउका लागि समन्वय गरेको थियो । मकवानपुरको भैंसेबाट प्रमितलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैलाई ‘कर्तव्य ज्यान’ मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरी जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×