
काठमाडौं। देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका अनुसार गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ १.९२ प्रतिशतले बढी भएको हो।
विभागको पछिल्लो तथ्यांकअनुसार हालसम्म १३ लाख ४१ हजार ७६४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ। देशभर १३ लाख ७० हजार हेक्टर जमिन धान खेतीयोग्य रहेको विभागले जनाएको छ।
प्रदेशगत रूपमा सुदूरपश्चिममा सबैभन्दा बढी अर्थात् शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ। कर्णालीमा ९८.५ प्रतिशत, मधेशमा ९८.१० प्रतिशत, लुम्बिनीमा ९७.८७ प्रतिशत, बागमतीमा ९७.८२ प्रतिशत, गण्डकीमा ९६.६८ प्रतिशत र कोशी प्रदेशमा ९७ प्रतिशत रोपाइँ सकिएको विभागले जनाएको छ।
कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले विशेषगरी मधेश प्रदेशलगायतका क्षेत्रमा पर्याप्त वर्षा नहुँदा यस वर्ष रोपाइँ केही ढिला भएको बताए।
तर पछिल्लो समय वर्षा पर्याप्त भएपछि रोपाइँको अवस्था सुधारिएको उनको भनाइ छ। अधिकांश क्षेत्रमा अझै आकाशे पानीकै भरमा रोपाइँ गर्नुपर्ने अवस्था रहे पनि यस वर्षको मनसुन तुलनात्मक रूपमा अनुकूल रहेकाले गत वर्षभन्दा धान उत्पादन बढ्ने अपेक्षा गरिएको सञ्जेलले बताए।



















