
एजेन्सी। भारतको बिहारस्थित पश्चिम चम्पारण जिल्लामा अनियन्त्रित बस सडक किनारमा भेला भएको भीडमा पस्दा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्।
बेतिया–लौरिया मुख्य मार्गअन्तर्गत एनएच–७२७ मा शुक्रबार राति करिब ११ बजे दुर्घटना भएको हो। गोरखपुरबाट बेतियातर्फ जाँदै गरेको तीव्र गतिमा रहेको शाही बस बसवरिया र पराउटोला बीचमा छठिहार समारोहका क्रममा आयोजित अर्केस्ट्रा कार्यक्रम हेरिरहेका मानिसहरूको भीडमा पसेको थियो।
स्थानीयका अनुसार त्यही बेला विपरीत दिशाबाट ग्यास सिलिन्डर बोकेको ट्रक आइरहेको थियो। ट्रकलाई साइड दिने क्रममा बस चालकले नियन्त्रण गुमाउँदा बस सडक किनारमा रहेका मानिसहरूलाई ठक्कर दिँदै अघि बढेको बताइएको छ।
दुर्घटनामा घटनास्थलमै दुई जनाको मृत्यु भएको थियो। उपचारका क्रममा थप तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सञ्जय महतो, भोला दुबे, बहादुर महतो, देवेन्द्र दुबे र छांगुर राम रहेका छन्। घाइते पाँच जनाको अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा बसको तीव्र गतिलाई दुर्घटनाको सम्भावित कारण मानेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















