निलो सिन्दुर : रंगमञ्चीय यात्राको अर्को अध्याय

मुलुकी खबर
रामभजन कामत
clock२०८३ भाद्र ६, शनिबार ११:४९

काठमाडौं आएपछि हरेक दुई वर्षको अन्तरालमा नयाँ नाट्यकृतिमार्फत आफ्ना अनुभूति, विचार र सामाजिक सरोकारलाई रंगमञ्चमा अभिव्यक्त गर्ने प्रयास गर्दै आएको छु। यो यात्रा मेरा लागि केवल नाटक मञ्चन गर्ने यात्रा होइन, आफूले देखे–भोगेका कुरा, समाजसँग जोडिएका प्रश्न र मनभित्रका संवेदनालाई रंगमञ्चमार्फत व्यक्त गर्ने एउटा निरन्तर प्रयास पनि हो।

यस यात्राको पहिलो नाट्यप्रयास थियो- ‘मिता’। मण्डला थिएटरमा मञ्चित उक्त नाटकमार्फत तराई र पहाडबीचको सामाजिक तथा सांस्कृतिक सम्बन्ध, पारस्परिक सद्भाव र सहअस्तित्वलाई कथाको रूपमा प्रस्तुत गर्ने प्रयास गरेको थिएँ। ‘मिता’ मेरो रंगमञ्चीय यात्राको एउटा महत्त्वपूर्ण सुरुआत बन्यो, जसले त्यसपछि आउने यात्राका लागि मलाई थप उत्साहित र जिम्मेवार बनायो।

Advertisement

त्यसपछि ‘काल’ नाटकमार्फत अर्को नाट्यप्रयोग गर्ने अवसर पाएँ। आदरणीय गुरु तथा अभिभावकद्वय सुनिल पोखरेल र प्रवीण खतिवडाको मार्गदर्शन तथा प्रिय साथीहरू र सहयात्रीहरूको साथ र सहकार्यमा कुञ्ज नाटकघरमा मञ्चित उक्त नाटक मेरा लागि अर्को महत्त्वपूर्ण अनुभव बन्यो।

‘काल’मार्फत व्यक्तिगत कारण मात्र होइन, विभिन्न सामाजिक, मनोवैज्ञानिक र परिस्थितिजन्य कारणले निराशा र कुण्ठामा डुबेका मनहरूलाई एकअर्काको हात समात्दै सामूहिक रूपमा अघि बढ्नुपर्ने मानवीय सन्देश प्रस्तुत गर्ने प्रयास गरेका थियौँ। त्यसैले त्यो नाट्ययात्रा मेरा लागि एउटा प्रस्तुति मात्र रहेन; सहकार्य, संवेदना र मानवीय सम्बन्धलाई अझ गहिरोसँग बुझ्ने अवसर पनि बन्यो।

यही यात्राको निरन्तरताका रूपमा यसपटक प्रख्यात नाटककार महिन्द्र मलंगियाको ‘देहपर कोठी खसा दिय’ नाटकलाई आदरणीय धीरेन्द्र प्रेमर्षिको अनुवादमा ‘निलो सिन्दुर’ शीर्षकमा मञ्चन गर्ने प्रयास गर्दैछु।

‘निलो सिन्दुर’मार्फत सामाजिक यथार्थ, मानवीय संवेदना र सम्बन्धका विविध आयामलाई रंगमञ्चीय भाषामा प्रस्तुत गर्ने हाम्रो प्रयास रहनेछ। एउटा कृतिलाई मञ्चमा ल्याउनु भनेको केवल कथा प्रस्तुत गर्नु होइन, त्यसमा लुकेका भाव, प्रश्न र अनुभूतिलाई दर्शकसँग जोड्नु पनि हो। त्यसैले ‘निलो सिन्दुर’ मेरा लागि मेरो रंगमञ्चीय यात्राको अर्को अध्याय मात्र नभई नयाँ संवादको सुरुआत पनि हो।

आज यही नाटकको शीर्षक ‘निलो सिन्दुर’ सामाजिक सञ्जालमार्फत यहाँहरूसमक्ष सार्वजनिक गर्न पाउँदा अत्यन्त हर्षित, उत्साहित र गौरवान्वित महसुस गरिरहेको छु। मेरो विश्वास छ-यस नाट्यप्रयासले नेपाली रंगमञ्चमा नयाँ विमर्श, अनुभूति र संवादका केही नयाँ आयाम थप्नेछ।

मेरो रंगमञ्चीय यात्राका प्रत्येक चरणमा यहाँहरूबाट प्राप्त हुँदै आएको आत्मीयता, माया, साथ, सुझाव र सहयोग नै निरन्तर अघि बढ्ने मेरो प्रेरणाको प्रमुख आधार बनेको छ। ‘मिता’देखि ‘काल’सम्म आइपुग्दा र अब ‘निलो सिन्दुर’सम्मको यात्रामा मैले पाएको साथ र विश्वास मेरा लागि सधैँ विशेष रहनेछ।

आगामी यात्रामा पनि यहाँहरूको साथ, विश्वास र सद्भाव निरन्तर प्राप्त हुने अपेक्षा राखेको छु। ‘निलो सिन्दुर’लाई पनि यहाँहरूको आत्मीय साथ, सकारात्मक प्रतिक्रिया र रचनात्मक सुझाव प्राप्त हुने विश्वास लिएको छु।

अन्ततः, मेरो बुझाइमा रंगमञ्च केवल कथा भन्ने माध्यम होइन; यो समाजसँग संवाद गर्ने, प्रश्न उठाउने, अनुभूति साट्ने र मानिसलाई मानिससँग जोड्ने एउटा सशक्त माध्यम पनि हो।

त्यही संवादको अर्को प्रयास हो-‘निलो सिन्दुर’।

तपाइको प्रतिक्रिया
‘नेपालको अर्थतन्त्रमा सुधारका संकेत’
सोमबार विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
अदालत होइन, पार्टी कार्यालयमा बसेर संवाद गर्न विश्वप्रकाशको आग्रह
नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेशसँग भिड्दै
मुस्ताङ भ्रमणमा प्रधानमन्त्री शाह, मालढुङ्गाबाट अघि बढ्यो टोली
बीपीको सशस्त्र संघर्षका संस्मरण समेटिएको ‘बीपी र विद्रोहका ती दिन’ इलाममा विमोचन
कोशीमा विद्युत् आपूर्ति भरपर्दो बनाउँदै खपत बढाउन ऊर्जामन्त्रीको निर्देशन
गरिमा चौधरीलाई न्याय माग्दै शान्तिवाटिकामा प्रदर्शन
निलो सिन्दुर : रंगमञ्चीय यात्राको अर्को अध्याय
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×